
काठमाडौं, जेठ ३१- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित नगर अस्पतालले आजबाट मोतियाबिन्दुको शल्यक्रिया सुरु गरेको छ । नगरप्रमुख उपेन्द्र कार्कीले एक कार्यक्रमकाबीच आज दिउँसो सेवाको उद्घाटन गर्नुभएको हो ।
अस्पतालमा आज एकैदिन ४९ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको छ । बिरामीहरुको शल्यक्रिया आँखा रोग बिशेषज्ञ डा. अर्जुन श्रेष्ठको टोलीले गरेको थियो ।
निशुल्क यो सेवा उपलब्ध भएसँगै प्रफुल्ल भएका ८० जना जेष्ठ नागरिकले आँखाको मोतियाबिन्दुका बिरामीले शल्यक्रियाका लागि नाम टिपाएका थिए । ती मध्ये ४९ जनाको सफल शल्यक्रिया सम्पन्न भएको फोकल पर्सन कमल रावलले जानकारी दिनुभयो ।
बाँकी अन्यको उपयुक्त समय निर्धारण गरेर शल्यक्रिया गरिने अस्पताल प्रशासनले बताएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले नगर अस्पतालको सेवा वृद्धि, स्तरोन्नति र विकास गर्ने प्रयासको अर्को खुट्किलो पार गर्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले अस्पताललाई अबको ३ महिनाभित्र पुर्ण रुपमा अपरेसन थियटर संचालन गर्ने गरी काम भैरहेको पनि जानकारी दिनुभयो ।
काठमाडौंको पूर्वी क्षेत्रकै प्रतिष्ठित र सुविधासम्पन्न अस्पतालको रुपमा विकास भइरहेको हाल १५ शैयाको यस नगर अस्पतालले दैनिक एक हजार भन्दा बढी बिरामीलाई अत्याधुनिक विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा अत्याधुनिक विशेषज्ञ सेवाका लागि हाल १८ जना विशेषज्ञ चिकित्सकले सेवा प्रदान गर्दै आएका आएका छन् ।
२४ सै घण्टा ईमरजेन्सी सेवा प्रदान गर्दै आइरहेको अस्पतालमा प्याथोलोजी सेवा, रेडियोलोजी सेवा, फार्मेसी सेवा, दन्त सेवा फिजियोथेरापी सेवा, स्त्री तथा प्रस्तुती सेवा, आँखा जाँच सेवा, मनु चिकित्सक सेवा, डट्स सेवा, एम्बुलेन्स सेवा र शववाहन सेवा जस्ता सेवाहरु प्रभावकारी बन्दै गएका छन् ।
अस्पतालले अत्याधुनिक रेडियोलोजी मेसिनबाट उपलब्ध गराउदै आएको रेडियोलोजी सेवासमेत प्रभावकारी छ ।
त्यस्तै अस्पतालले विशेषज्ञ चिकित्सकसहित बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ओपिडि सेवा अन्तर्गत हाडजोर्नी विशेषज्ञ सेवा, ईन्टरनल मेडिसिन सेवा, बालरोग विशेषज्ञ सेवा, रेडियोलोजी सेवा, स्त्री विशेषज्ञ सेवा, ई.एन.टी विशेषज्ञ सेवा, मनोरोग विशेषज्ञ सेवा, छालारोग विशेषज्ञ सेवा, प्याथोलाजी सेवा, फार्मेसी सेवा, फिजियोथेरापी सेवा, आँखा जाँच विशेषज्ञ सेवा, दन्तरोग सेवा, एम्बुलेन्स सेवा, शववाहन सेवा, मुटुरोग सेवा, युरोलोजिष्ट सेवा, सर्जरी सेवा, पोषण परामर्श सेवा, खोप सेवा, डट्स सेवा, अन्तरंग सेवा संचालन गर्दै आएको छ ।
त्यस्तै आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन अस्पतालमा २४ सै घण्टा प्रसूति सेवा, प्रत्येक हप्ता २ दिन आमा र बच्चाका लागि नियमित खोप, पोषण सेवा एवं डट्स सेवासमेत उपलब्ध गराउदै आएको छ ।
अस्पतालमा नगरपालिका भित्रका मात्रै होइन छिमेकी नगर र सिन्धुपाल्चोक, दोलखा, भक्तपुर लगायतका जिल्लाबाट पनि बिरामीहरु आउने गरेका छन् ।
फिजियोथेरापी एवं दन्त सेवा, आँखा जाँच सेवालाई विशिष्टिकृत गर्दै अस्पतालले उच्च प्रविधि र उपकरणको प्रयोग गरी दक्ष जनशक्ति मार्फत यो सेवा प्रदान गर्दै आएको छ । यसबाट दैनिक करिब दुई सय भन्दा बढी बिरामी लाभान्वित हुँदै आएका छन् ।
अस्पतालले उपलब्ध गराएको अर्को महत्वपूर्ण सेवा फार्मेसी सेवा हो । यहाँ बाहिरी बजारमूल्य भन्दा करिब १० प्रतिशत सस्तोमा बिरामीले औषधी प्राप्त गर्न सक्छन भने निःशुल्क औषधीहरु पनि सरल र सहज रूपमा उपलब्ध हुने गरेको छन् ।