१४ कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो।
वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा विराटनगरले २ विकेट गुमाएर १०५ रन बनाएको थियो।
उसका लागि सेहान जयासूर्याले ३९, लोकेश बमले २५ र आन्द्रे रसेलले अविजित २९ रन बनाए। सुदूरपश्चिमका अविनाश बोहोराले २ विकेट लिए।
१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो। उसका लागि स्कट कुग्लेजिनले अविजित २८ तथा आरिफ शेख र सैफ जैबले समान १७ रन बनाए।
यो विराटनगरको तेस्रो खेलमा पहिलो जित हो। यसअघि चितवन र कर्णालीसँग पराजित भएको विराटनगरले जितको खाता खोलेको हो। सुदूरपश्चिमले भने तीन खेलमा दोस्रो हार बेहोरेको छ।






















