Skip
आज : २०८३ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगनको आक्रोश : रास्वपाको निर्देशन कागजमै, सरकार आफ्नै बाटोमा !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १५ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । रास्वपाले निर्देशन दिने तर सरकारले त्यसको पालना नगरी उल्टै गल्ती दोहोर्‍याउने गरेको उनको आरोप छ ।

आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष सम्बोधन गर्दै थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाको कडा विरोध गरे । सञ्चारमाध्यममा प्रकाशित समाचारकै विषयलाई लिएर पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उनको भनाइ छ ।

शुक्रबार सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाले पञ्चायती शासनकालको झल्को दिएको टिप्पणी गर्दै उनले विरोधपछि मात्रै पत्रकारहरू रिहा गरिएको बताए ।

थापाले सञ्चारगृह र आफ्नो घरअगाडि गाडी पार्किङ गरिएको विषयमा रास्वपाले छानबिन गर्ने बताए पनि अहिलेसम्म कुनै अनुसन्धान नभएको आरोप लगाए ।

प्रहरीले घटनाबारे दुईपटक विज्ञप्ति जारी गरेको उल्लेख गर्दै उनले पहिलो विज्ञप्तिमा सामान्य प्रहरी कारबाही भनिए पनि दोस्रो विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सचिवालयको दबाबका कारण पत्रकार पक्राउ गरिएको विषय उल्लेख भएको दाबी गरे ।

झोक र दबाबका आधारमा पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यमलाई धम्क्याउने प्रवृत्ति गलत भएको भन्दै थापाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।


प्रतिकृया दिनुहोस्