१४ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नव निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणमा सरकारसँग जवाफ मागेका छन्।
पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना टुंगिने नभई पक्राउको निर्देशन कसले दिएको थियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने विषय महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
शर्माले सञ्चार गृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री कार्यालयले आफू संलग्न नभएको स्पष्टीकरण दिनु मात्रै पर्याप्त नहुने बताएका छन्।
मुलुकको चौथो अंगमाथि यस्ता घटना हुँदा सरकारले जिम्मेवारी लिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने प्रश्न उठेको उनले उल्लेख गरेका छन्।
शर्माले केही महिनाअघि सञ्चार गृहअगाडि सवारीसाधन राखेर त्रास सिर्जना गरिएको घटनाका दोषी पहिचान गरी सार्वजनिक गर्नसमेत सरकार असफल भएको आरोप लगाएका छन्।
सत्तारूढ दलले पत्रकार पक्राउलाई गैरकानुनी भने पनि त्यस्ता गतिविधि दोहोरिन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ।
प्रेस स्वतन्त्रता चुनावी घोषणापत्रमा उल्लेख गर्ने विषयमा मात्र सीमित नभई व्यवहारमै संरक्षण गर्नुपर्ने उनले बताएका छन्।
स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको उल्लेख गर्दै शर्माले गलत तथा भ्रमपूर्ण समाचारको खण्डन र आवश्यक कारबाहीका लागि कानुनी प्रक्रिया अपनाउनुपर्नेमा जोड दिएका छन्।
उनले संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गतिविधि रोक्न र पत्रकार पक्राउको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

























