काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–१ को आयोजनामा वडा दशैं, शुभदीपावली तथा छठ पर्वको अवसरमा प्रथम वडाध्यक्ष कप फुट्सल प्रतियोगिता आजदेखि सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन नगरप्रमुख उपेन्द्र कार्कीले गरेका हुन्। उद्घाटन कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा, वडाध्यक्ष मकुन्दप्रसाद गजुरेललगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा प्रथम हुने टोलीलाई ३० हजार रुपैयाँ बराबरको एउटा खसी र २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, दोस्रो हुने टोलीले २० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने टोलीलाई समेत शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने वडाअध्यक्ष गजुरेलले जानकारी दिए।
प्रतियोगितामा ११ टीमले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख कार्कीले नगरपालिकालाई खेलकुदको नगरीका रूपमा विकास गर्नु आफूहरूको नीति रहेको बताए। खेलकुदले युवालाई अनुशासित बनाउनुका साथै उनीहरूको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले स्थानीयस्तरमा यस्ता प्रतियोगिताको आयोजना गर्नु आवश्यक रहेको बताए।
नगर उपप्रमुख शान्ता थापाले खेलकुदले युवामा अनुशासन, आपसी सद्भाव र सहकार्यको भावना विकास गर्ने बताइन्। स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेल प्रतिभाको पहिचान गर्न र युवालाई खेलकुदप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
वडाध्यक्ष गजुरेलले प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेल प्रतिभाको पहिचान गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नु रहेको बताए। प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी छनोट गरी उनीहरूको क्षमता विकासमा सहयोग पुर्याउने योजना रहेको उनले जानकारी दिए।
उनले यस्ता प्रतियोगिताले युवालाई खेलकुदमा सहभागी हुन प्रोत्साहित गर्नुका साथै वडा तथा नगरस्तरमा खेलकुदको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।


































