काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौंका विभिन्न स्थानमा सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ।
महाधिवेशन आइतबार दिउँसो २ बजे खुलामञ्चमा औपचारिक रूपमा उद्घाटन हुँदैछ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा नेता–कार्यकर्ताका सवारीसाधन व्यवस्थापनका लागि काठमाडौंका ८ स्थान तोकिएको यातायात व्यवस्थापन समितिले जनाएको छ।
व्यवस्था गरिएका स्थानमा धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानानजिकको साल्ट ट्रेडिङ पार्किङ, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन, राष्ट्रिय सभागृहको पार्किङ, नेपाल प्रज्ञा–प्रतिष्ठान परिसर तथा दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ रहेका छन्।
त्यस्तै, उपत्यकाबाहिरबाट महाधिवेशन प्रतिनिधि बोकेर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भाग प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।
यसका लागि ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरिएको यातायात व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले जानकारी दिएका छन्।
पार्किङ गरिएका स्थानमध्ये धरहरा अन्डरग्राउन्ड र अन्नपूर्ण होटलको पार्किङमा शुल्क लाग्नेछ भने अन्य तोकिएका स्थानमा निःशुल्क पार्किङ गर्न सकिनेछ।
महाधिवेशनमा आउने प्रतिनिधि तथा नेता–कार्यकर्तालाई आफू आएको क्षेत्रअनुसार तोकिएको पार्किङस्थलमै सवारीसाधन राख्न कांग्रेसले आग्रह गरेको छ।































