काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन राजधानी आएका प्रतिनिधि तथा शुभेच्छुकको बसोबासका लागि पार्टीले होटलको व्यवस्था मिलाएको छ।
आवास व्यवस्थापन समितिले प्रतिनिधिको चापलाई ध्यानमा राख्दै काठमाडौंका विभिन्न क्षेत्रमा रहेका होटलमा कोठा बुक गरेको हो। गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, बालाजु, नयाँ बसपार्क, सुन्धारा र कलंकी क्षेत्रमा आवासको प्रबन्ध गरिएको छ।
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अनुसार करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुकलाई लक्षित गरी ५ हजार कोठा व्यवस्थापन गरिएको छ।
प्रतिनिधिको आवास प्रदेशअनुसार छुट्टाछुट्टै क्षेत्रमा मिलाइएको छ। कोशी र मधेसका प्रतिनिधिलाई गौशाला तथा कोटेश्वर क्षेत्रमा राखिनेछ भने बागमतीका लागि लाजिम्पाट र ठमेल क्षेत्र तोकिएको छ।
त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशबाट आएका प्रतिनिधिका लागि बालाजु र नयाँ बसपार्क क्षेत्रमा बस्ने व्यवस्था गरिएको छ।































