Skip

Hamro Sanchar

प्रहरीको दाबी : प्रहरीले राहत सामग्री लुकायो’ भन्ने अफवाह तथ्यहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २३ गते


Advertisement

२३ भदौ, काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सुरक्षा निकायले राहत सामग्री लिएको, वितरण नगरेको वा सामग्री सडेर गएको भन्ने भ्रमपूर्ण तथा तथ्यहीन अफवाह फैलाइएको भन्दै आपत्ति जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी निरन्तर खोज, उद्धार, राहत तथा पुनःस्थापनामा खटिरहेको जनाएको छ ।

प्रहरीका अनुसार सुरक्षाकर्मीहरूले जोखिम मोलेर नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायतका मानवीय कार्य गरिरहेका छन् ।

सामाजिक सञ्जालमा सुरक्षा निकायले राहत सामग्री आफैं राखेको वा वितरण नगरेको भन्ने किसिमका सामग्री फैलाइएको भन्दै प्रहरीले त्यसलाई “कपोलकल्पित आरोप तथा अफवाह” भनेको छ । नेपाल प्रहरीसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेकोसमेत विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विपद्को संवेदनशील समयमा यस्ता अपुष्ट सूचनाले सुरक्षाकर्मीको मनोबलमा असर पार्नुका साथै नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना गर्न सक्ने बताएका छन्।

उनले भनेका छन्, “यस्तो संवेदनशील परिस्थितिमा राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबल कमजोर पार्ने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचनाको प्रचार–प्रसार नगर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ।

 


प्रतिकृया दिनुहोस्