काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार र जनजीविकाका सवाललाई केन्द्रमा राख्दै आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार शनिबार दिउँसो २ः३० बजे काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गरिनेछ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।
नेकपाको केन्द्रीय संयोजन समितिको असोज २३ गते बसेको बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। आगामी स्थानीय तह निर्वाचनअघि वडा तथा पालिका अधिवेशन गर्ने निर्णयसमेत पार्टीले गरेको छ।
अभियानका क्रममा पार्टीका विभिन्न समिति तथा जनवर्गीय र मोर्चा सङ्गठनहरूको समायोजन पूरा गर्ने, सङ्गठित सदस्यता नवीकरण तथा विस्तारलाई तीव्रता दिने र पार्टीका बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गरिनेछ।
त्यस्तै, जनतासँगको सम्बन्ध सुदृढ बनाउन जनकेन्द्रित कार्यक्रम सञ्चालन गर्ने, सांस्कृतिक तथा रचनात्मक गतिविधि अघि बढाउने र जनताका दैनिक समस्याबारे जानकारी सङ्कलन गरी सम्बन्धित निकायमा पेस गरिने पार्टीले जनाएको छ।
श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्नुका साथै विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काममा सहयोग गर्ने योजना पनि अभियानमा समेटिएको छ।
नेकपाले महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र असुरक्षालगायत जनताका समस्यालाई प्रमुखताका साथ उठाउने जनाएको छ।
यस्ता विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गर्ने कार्यक्रम छ।
राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन र जनजीविकाका विषयमा जनचेतना फैलाउनुका साथै पार्टीको सङ्गठनात्मक संरचना सुदृढ बनाउने लक्ष्यसहित नेकपाले यो अभियान सञ्चालन गर्न लागेको हो।






























