काठमाडौं । अर्थमन्त्री डा. स्वोर्निम वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने समय समाप्त भएको बताएका छन्।
भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, सुशासन, रोजगारी र छिमेकी मुलुकसँगको सहकार्य रहेको बताएका हुन्।
‘नेपाली राष्ट्रवादलाई एन्टी–इन्डियनिज्मसँग जोड्ने त्यो युग अब सकियो,’ वाग्लेले भने।
नेपाल र भारतको भविष्य एकअर्कासँग जोडिएको उल्लेख गर्दै उनले दुवै देशबीचको सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए। उनले नेपालका प्रधानमन्त्री बालेन शाहले पनि चाँडै भारत भ्रमण गर्ने अपेक्षा व्यक्त गरे।
वाग्लेले विपद्का बेला भारतले गरेको सहयोगको प्रशंसा गर्दै जलवायु परिवर्तनबाट हुने क्षति र पुनर्निर्माणको विषयसमेत उठाए।
जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसबाट क्षति भएका पूर्वाधार पुनर्निर्माण गर्न नेपालले ऋण लिनुपर्ने अवस्थामाथि उनले प्रश्न गरेका थिए।































