Skip
आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानाध्यापक संघ नेपाल (पान) को तेस्रो राष्ट्रिय शिखर सम्मेलन मंसिर पहिलो साता जनकपुरमा हुदै

सातै प्रदेशका उत्कृष्ट सामुदायिक विद्यालय, प्रधानाध्यापक र स्थानीय सरकार छनोट, शिक्षा पत्रकार र विज्ञलाई पनि सम्मान गरिने

सुदिप बर्देवा प्रकाशित : २०८३ असोज, २४ गते


Advertisement

काठमाडौं, असोज २४- प्रधानाध्यापक संघ नेपाल (पान) को तेस्रो राष्ट्रिय शिखर सम्मेलन आगामी मंसिर ४ देखि ६ गतेसम्म मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुने भएको छ।

प्रत्येक वर्ष देशका फरक-फरक प्रदेशहरूमा राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको संस्थाले यस वर्ष मधेश प्रदेशमा आयोजना गर्न लागेको हो। सम्मेलनकै अवसरमा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार, शिक्षा पत्रकार तथा शिक्षा विज्ञहरूलाई सम्मान गरिने भएको छ। यसका लागि संस्थाको केन्द्रीय समितिले उत्कृष्ट व्यक्ति तथा संस्थाहरूको छनोट गरी नामावली सार्वजनिक गरेको छ।

नेपालको विद्यालय शिक्षा प्रणालीमा नेतृत्व, गुणस्तर, नवप्रवर्तन, उत्तरदायित्व र उत्कृष्ट शैक्षिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।

पानले तेस्रो राष्ट्रिय शिखर सम्मेलन-२०८३ का अवसरमा सम्मानित हुने उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार, शिक्षा पत्रकार तथा शिक्षा विज्ञहरूको छनोट गरेको छ। नेपालको विद्यालय शिक्षा प्रणालीमा नेतृत्व, गुणस्तर, नवप्रवर्तन, उत्तरदायित्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले विभिन्न विधामा सम्मानका लागि व्यक्ति तथा संस्थाहरू छनोट गरेको हो।

पान केन्द्रीय समितिका अनुसार सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालय, आधारभूत विद्यालय तथा तिनका प्रधानाध्यापक छनोट गरिएको छ। त्यस्तै, उत्कृष्ट गाउँपालिका तथा नगरपालिकासहित शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने पत्रकार र विज्ञलाई समेत सम्मान गरिनेछ।

पानले सार्वजनिक गरेको सूचीअनुसार कोशी प्रदेशमा फिदिम माध्यमिक विद्यालय, पाँचथर उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ भने प्रधानाध्यापकतर्फ सुनसरीको श्री पब्लिक माध्यमिक विद्यालयका डा. ईन्द्रमोहन झा छनोट भएका छन्।

मधेश प्रदेशबाट धनुषाको श्री जनता नमुना माध्यमिक विद्यालय र प्रधानाध्यापकतर्फ सप्तरीको चन्दा नमुना माध्यमिक विद्यालयका गौरीशङ्कर चौधरी छनोट भएका छन्। बागमती प्रदेशबाट मकवानपुरको जनप्रिय माध्यमिक विद्यालय तथा रामेछापको डु हु माध्यमिक विद्यालयका दलबहादुर बल छनोट भएका छन्।

त्यसैगरी, गण्डकी प्रदेशबाट तनहुँको पञ्चदेवमुनी माध्यमिक विद्यालय र म्याग्दीको ज्ञानप्रकाश माध्यमिक विद्यालयका शान्त नेपाली, लुम्बिनी प्रदेशबाट गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालय र पाल्पाको दमकडा नमुना माध्यमिक विद्यालयका मोहनप्रसाद सापकोटा छनोट भएका छन्।

कर्णाली प्रदेशबाट सुर्खेतको त्रिपुरेश्वर माध्यमिक विद्यालय तथा मुगुको महाकाली नमुना माध्यमिक विद्यालयका खडक रोकाया छनोट भएका छन्। सुदूरपश्चिम प्रदेशबाट दार्चुलाको मालिकार्जुन माध्यमिक विद्यालय र कैलालीको धनगढी माध्यमिक विद्यालयका लक्ष्मणदत्त भट्ट छनोट भएका छन्।

आधारभूत विद्यालयतर्फ कोशी प्रदेशबाट ताप्लेजुङको मेवाराजा आधारभूत विद्यालय र प्रधानाध्यापकतर्फ मोरङको जनता आधारभूत विद्यालयका राजेश यादव छनोट भएका छन्।

मधेश प्रदेशबाट पर्साको श्री मन मिश्र आधारभूत विद्यालय तथा धनुषाकी प्रेमकली यादव, बागमती प्रदेशबाट चितवनको श्री आधारभूत विद्यालय र काठमाडौंको पञ्चकन्या आधारभूत विद्यालयकी विनिता रञ्जित छनोट भएका छन्।

गण्डकी प्रदेशबाट नवलपुरको श्री सरस्वती आधारभूत विद्यालय र कास्कीको मेघराज आधारभूत विद्यालयका विश्वमोहन पोखरेल छनोट भएका छन्। लुम्बिनी प्रदेशबाट कपिलवस्तुको सूर्योदय आधारभूत विद्यालय तथा प्युठानको जनता आधारभूत विद्यालयकी गङ्गा शर्मा छनोट भएका छन्।

त्यस्तै, कर्णाली प्रदेशबाट हुम्लाको बलभद्र आधारभूत विद्यालय र डोल्पाको सल्लेरी आधारभूत विद्यालयका ज्ञानु गुरुङ तथा सुदूरपश्चिम प्रदेशबाट बझाङको बालमन्दिर आधारभूत विद्यालय र बैतडीको पञ्चदेव आधारभूत विद्यालयकी मानासे ऐर छनोट भएका छन्।

स्थानीय सरकारतर्फ कोशी प्रदेशबाट उदयपुरको लिम्चुङबुङ गाउँपालिका र मोरङको सुन्दरहरैंचा नगरपालिका छनोट भएका छन्। मधेश प्रदेशबाट धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका र सर्लाहीको बागमती नगरपालिका छनोट भएका छन्।

बागमती प्रदेशबाट धादिङको बेनीघाट रोराङ गाउँपालिका तथा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका, गण्डकी प्रदेशबाट स्याङ्जाको फेदीखोला गाउँपालिका र नवलपुरको गैँडाकोट नगरपालिका छनोट भएका छन्।

लुम्बिनी प्रदेशबाट गुल्मीको धुर्कोट गाउँपालिका र कपिलवस्तुको शिवराज नगरपालिका, कर्णाली प्रदेशबाट रुकुम पश्चिमको सानीभेरी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका छनोट भएका छन्।

सुदूरपश्चिम प्रदेशबाट अछामको तुर्माखाँद गाउँपालिका र कञ्चनपुरको वेदकोट नगरपालिका छनोट भएका छन्। महानगरपालिका तथा उपमहानगरपालिकातर्फ भरतपुर महानगरपालिका छनोट भएको सूचीमा उल्लेख छ।

पानले शिक्षा पत्रकारितातर्फ दिनेश गौतम र मणिका झालाई छनोट गरेको छ। शिक्षा विज्ञतर्फ डा. सुरेशराज शर्मालाई सम्मानका लागि छनोट गरिएको छ।

संस्थाका अनुसार PAN Honours & Awards सदस्यतामा मात्र सीमित नभई योग्यता, उपलब्धि, प्रभाव, नेतृत्व, नवप्रवर्तन तथा शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा प्रदान गरिने सम्मान हो। पानका सदस्य नभएका योग्य व्यक्ति वा संस्थासमेत सम्बन्धित विधामा छनोट हुन सक्ने व्यवस्था रहेको छ।

पुरस्कार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र योग्यतामा आधारित बनाउन पाँच सदस्यीय समिति गठन गरिएको थियो। समितिमा प्रा. डा. विद्यनाथ कोइराला संयोजक तथा रामप्रसाद सुवेदी, नन्दकुमारी महर्जन, दिनेश कुमार श्रेष्ठ र सुदर्शन घिमिरे सदस्य रहेका थिए।

समितिले प्राप्त आवेदन, मनोनयन तथा सिफारिसका आधारमा उपलब्धि, कार्यसम्पादन, नेतृत्व, नवप्रवर्तन, संस्थागत सुधार र शैक्षिक प्रभावलगायतका पक्ष अध्ययन गरी छनोट प्रक्रिया अघि बढाएको पानले जनाएको छ।

सम्मेलनमार्फत उत्कृष्ट शैक्षिक अभ्यासलाई प्रोत्साहन गर्नुका साथै विद्यालय शिक्षा सुधार, संस्थागत उत्तरदायित्व र शैक्षिक नेतृत्वको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिकृया दिनुहोस्