९ मंसिर, काठमाडौं । सरकारले सडक दुर्घटना तथा विपद्मा घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार उपलब्ध गराउन सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो।
उहाँका अनुसार दक्ष जनशक्ति, आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकसहितका ट्रमा सेन्टर स्थापना गरिनेछ।
यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशमै सम्भव हुने र बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता कम हुनेछ।
मन्त्री मेहताले दुर्घटनापछिको आकस्मिक सेवालाई प्रभावकारी बनाउन देशभर एउटै नम्बर १०२ मार्फत एम्बुलेन्स सेवा सञ्चालन गरिएको पनि बताउनुभयो।
त्यस्तै, दुर्घटनापछि घाइतेमा देखिन सक्ने शारीरिक अपाङ्गता तथा मानसिक समस्यालाई सम्बोधन गर्न पुनर्स्थापना र मनोसामाजिक परामर्श सेवा विस्तार गर्ने सरकारको नीति रहेको उहाँले उल्लेख गर्नुभयो।
राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणका लागि मन्त्रालय प्रतिबद्ध रहेको पनि मन्त्री मेहताले बताउनुभयो।
























