९ मंसिर, काठमाडौं । पोर्चुगलमा रहेका नेपाली नागरिकलाई आफ्नो पासपोर्ट र आवासीय अनुमति पत्र सामाजिक सञ्जालमा सार्वजनिक नगर्न नेपाली राजदूतावास लिस्बनले आग्रह गरेको छ।
टिकटक लगायतका सामाजिक सञ्जालमा राहदानी र आवासीय कार्ड प्रदर्शन गर्ने क्रम बढेपछि दूतावासले मंगलबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
दूतावासले पासपोर्ट र आवासीय अनुमति पत्र संवेदनशील तथा महत्वपूर्ण सरकारी कागजात भएकाले तिनको गोपनीयता र सुरक्षा कायम राख्नुपर्ने जनाएको छ।
यस्ता कागजात सार्वजनिक रूपमा प्रदर्शन गर्नु अनुपयुक्त हुने भन्दै पोर्चुगलमा रहेका सम्पूर्ण नेपालीलाई सामाजिक सञ्जालमा नराख्न अनुरोध गरेको छ।

























