काठमाडौं । साउदी अरबस्थित अमेजनका गोदाममा कार्यरत नेपाली र भारतीय श्रमिकले कामबाट निकालिने धम्की, तलब नपाउने र दुर्व्यवहार भोग्नुपरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।
एम्नेस्टीको प्रतिवेदनअनुसार तेस्रो पक्षका कम्पनीमार्फत भर्ना भएका श्रमिकलाई अमेजनले जुनसुकै बेला कामबाट हटाउन सक्ने र त्यसपछि महिनौँसम्म पारिश्रमिक नदिने गरिएको छ।
कामको लक्ष्य पूरा गर्न अत्यधिक दबाब दिने, गाली गर्ने र उजुरी गरे प्रतिशोधको डर देखाउने गरेको पनि पाइएको छ।
काम गुमाएपछि भिसा प्रायोजन गर्ने कम्पनीकै नियन्त्रणमा रहनुपर्ने, अर्को रोजगारी खोज्न र स्वदेश फर्कनसमेत कठिन हुने गरेको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म रियादमा कार्यरत तथा पूर्वकार्यरत २४ नेपाली र भारतीय श्रमिकसँग गरिएको अन्तर्वार्ताका आधारमा प्रतिवेदन तयार पारिएको हो।
यसअघि सन् २०२३ को अनुसन्धानपछि अमेजनले १ हजार १८० श्रमिकलाई २४ लाख ५० हजार डलरभन्दा बढी रकम फिर्ता गरेको थियो। अमेजनले भने श्रमिक आपूर्ति कम्पनीमाथि निगरानी बढाएको र बाँकी तलब तथा सुविधा भुक्तानी गर्न निर्देशन दिएको जनाएको छ। एम्नेस्टीले श्रमिकलाई प्रत्यक्ष रोजगारी दिन अमेजनसँग माग गरेको छ।

























