९ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमतिको स्वागत गरेका छन्।
पूर्वपर्यटनमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न सहयोग पुग्ने बताएका छन्।
तर भैरहवा र पोखरा विमानस्थलमा जहाज अवतरण सहज हुने वा नहुने भन्ने विषय प्राविधिक अध्ययनपछि मात्रै स्पष्ट हुने उनको भनाइ छ।
उनले नेपालका लागि दुईतर्फी हवाई रुट विस्तार गर्दा महेन्द्रनगर र नेपालगञ्जलाई प्राथमिकतामा राख्नुपर्नेमा समेत जोड दिएका छन्।
साथै, सन् २०१९ मा नेपाल र भारतका अधिकारीबीच भएको हवाई रुटसम्बन्धी छलफल कार्यान्वयनको चरणमा पुगेर पनि किन रोकियो भन्ने विषय उपयुक्त समयमा सार्वजनिक गर्ने उल्लेख गरेका छन्।
भट्टराईले राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सन्देशसमेत दिएका छन्।

























