काठमाडौं । सरकारले सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने गरी स्वास्थ्य बीमा ऐन संशोधन गर्ने तयारी गरेको छ।
यसका लागि तयार पारिएको विधेयक कानुन मन्त्रालयमा पठाइसकिएको र छिट्टै संसद्मा दर्ता गरिने स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ।
प्रस्तावित विधेयकमा सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई बीमामा समेट्ने व्यवस्था गरिएको छ।
आर्थिक रूपमा कमजोर तथा योगदान गर्न नसक्ने नागरिकको उपचार खर्च राज्यले बेहोर्ने प्रस्ताव पनि गरिएको छ।
त्यस्तै, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषका उपचार सुविधाबीच समन्वय गर्ने तथा अनावश्यक परीक्षण र गलत दाबी नियन्त्रण गर्ने व्यवस्था पनि संशोधनमा समेटिएको छ।
























