काठमाडौं । इजिप्टको गिजास्थित व्यस्त राजमार्गमा इन्धन बोकेको ट्यांकर दुर्घटनापछि भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
बुधबार गिजाको वराक जिल्लास्थित रिङ रोडमा इन्धन ट्यांकर पल्टिएपछि आगो फैलिएको थियो। आगलागीले सडकमा गुडिरहेका कार तथा मोटरसाइकलसहित कम्तीमा २७ वटा सवारीसाधन जलेर नष्ट भएका छन्।
घटनालगत्तै उद्धार तथा उपचारका लागि ३९ वटा एम्बुलेन्स परिचालन गरिएको थियो। उद्धारकर्मीले सवारीसाधनभित्र फसेका मानिसलाई बाहिर निकाली नजिकैका अस्पताल पुर्याएका छन्।
इजिप्टका स्वास्थ्यमन्त्री खालेद अब्देल गफ्फारले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। आगलागीमा जलेर पहिचान गर्न कठिन भएका शवको सनाखतका लागि डीएनए परीक्षण भइरहेको छ।
सरकारी अभियोजनकर्ताले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन्। बाक्लो बस्ती रहेको क्षेत्रमा भएको दुर्घटनापछि घटनास्थलमा ठूलो भीड जम्मा भएको थियो।
यसैबीच, राष्ट्रपति अब्देल–फताह अल–सिसीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार र घाइतेलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

























