१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनकोसी–मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का रद्द प्रकरणमा प्रधानमन्त्रीको टिममाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
उनले प्रधानमन्त्री कार्यालयको दबाबमा कर्मचारीलाई नियन्त्रणमा लिएर मानसिक दबाब दिँदै ठेक्का रद्द गरिएको आरोप लगाएका छन्।
आयोजनामा ६ कम्पनीले बोलपत्र पेस गरेकामा तीनवटा प्राविधिक मूल्यांकनमा उत्तीर्ण भएका थिए। आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला ठेक्का रद्द गरिएको उनको भनाइ छ।
आङदेम्बेका अनुसार राष्ट्रिय गौरवको यस आयोजनाले मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्याउनुका साथै २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको पनि उनले स्मरण गराएका छन्।
यस विषयमा संघीय संसद्को लेखा समितिले समेत प्रश्न उठाउँदै ठेक्का रद्दसम्बन्धी कागजात मागेको उनले बताएका छन्।
प्रधानमन्त्री कार्यालय कर्मचारीलाई नियन्त्रणमा लिएर मानसिक यातना दिने निकाय नभएको उल्लेख गर्दै उनले निर्णय प्रक्रियामा संलग्न प्रधानमन्त्रीको टिममाथि स्वतन्त्र छानबिन गर्न र मधेसको विकासलाई राजनीतिक प्रतिशोधको विषय नबनाउन आग्रह गरेका छन्।

























