काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ।
प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले बिहीबार मंसिर १० गते सूचना प्रकाशित गर्दै उनीहरूलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।
सूचनाअनुसार सम्बन्धित प्रहरी कर्मचारीहरू आफू कार्यरत कार्यालयमा लामो समयदेखि गैरहाजिर रहेका छन्। खोजतलास गर्दा समेत सम्पर्कमा नआएपछि प्रहरी नियमावली, २०७१ अनुसार प्रक्रिया पूरा गरी सार्वजनिक सूचना जारी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनेको छ।
तोकिएको समयभित्र हाजिर नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ।
सूचनामा प्रहरी जवानदेखि प्रहरी निरीक्षक तहसम्मका कर्मचारीहरू समेटिएका छन्। उनीहरू विभिन्न प्रहरी कार्यालय, गण तथा सुरक्षा निकायमा कार्यरत रहेको उल्लेख छ।

























