१० मंसिर, काठमाडौं । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको प्रमुख तेल प्रशोधन केन्द्र र रियादको वित्तीय क्षेत्रमा आक्रमण गरेको दाबी गरेका छन्।
हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार रास तनुरा तेल प्रशोधन केन्द्रमा आक्रमणपछि आगलागी भएको छ।
रियादको वित्तीय जिल्लालाई पनि तीन चरणमा निशाना बनाइएको उनको दाबी छ।
यसअघि साउदी नेतृत्वको गठबन्धनले पूर्वी प्रान्तस्थित रास तनुरा नजिकै चारवटा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत नष्ट गरेको जनाएको थियो।
रोयटर्सले सार्वजनिक गरेको स्याटेलाइट तस्बिरमा रिफाइनरी क्षेत्रमा बाक्लो धुवाँ देखिएको छ। उक्त धुवाँ फैलिएको क्षेत्र करिब ६०० वर्ग किलोमिटर रहेको अनुमान गरिएको छ।

























