Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा औद्योगिक प्रोफाइल निर्माण सुरु

स्थानीय उत्पादन र रोजगारीको अवस्थाको तथ्याङ्क संकलन गरिँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ७ गते


Advertisement

काठमाडौँ, मंसिर ७- कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र सञ्चालित उद्योग, व्यवसाय, औद्योगिक उत्पादन तथा रोजगारीको वास्तविक अवस्था पहिचान गर्ने उद्देश्यले औद्योगिक प्रोफाइल निर्माण कार्य सुरु गरेको छ।

नगरपालिकाभित्र रहेका उद्योग तथा उत्पादनमूलक क्षेत्रको अवस्था, उत्पादन क्षमता, रोजगारी सिर्जनाको अवस्था, उद्यमशीलता र औद्योगिक सम्भावनासम्बन्धी यथार्थपरक तथ्याङ्क संकलन गरी व्यवस्थित अभिलेख तयार गर्ने लक्ष्यसहित यो कार्य अघि बढाइएको हो।

नगरपालिकाको अभिलेख व्यवस्थापन तथा बजार अनुगमन शाखाको पहलमा सञ्चालन भइरहेको यस कार्यअन्तर्गत नगर क्षेत्रभित्रका उद्योग, उद्यम तथा उत्पादनमूलक प्रतिष्ठानहरूको विवरण संकलन गरिनेछ। संकलित तथ्याङ्कका आधारमा नगरको औद्योगिक अवस्था, स्थानीय उत्पादनको सम्भावना, रोजगारीको अवसर तथा औद्योगिक विकासका चुनौतीहरूको विश्लेषण गरिने शाखा प्रमुख शान्ति ढकालले हाम्रोसंचारलाई जानकारी दिनु भयो ।

औद्योगिक प्रोफाइल तयार भएपछि नगरपालिकालाई उद्योग तथा व्यवसाय क्षेत्रको विकासका लागि आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै स्थानीय उत्पादनको पहिचान र प्रवर्द्धन, उद्यमशीलताको विकास, रोजगारीका अवसर विस्तार तथा लगानीमैत्री वातावरण निर्माणमा समेत यसले महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ।

नगरभित्र उपलब्ध औद्योगिक स्रोत, साधन र सम्भावनाको पहिचान गरी तथ्याङ्कमा आधारित विकास योजना निर्माण गर्नु यस अभियानको महत्वपूर्ण उद्देश्य रहेको छ।

औद्योगिक प्रोफाइल निर्माणले नगरपालिकाको आर्थिक विकासको वर्तमान अवस्था चित्रण गर्नुका साथै आगामी दिनमा स्थानीय उत्पादन र रोजगारी प्रवर्द्धनका लागि स्पष्ट मार्गचित्र तयार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिकृया दिनुहोस्