काठमाडौं, मंसिर २- स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी जग्गा प्रशासन सेवा सञ्चालन गरेर देशभर उदाहरणीय बनेको कागेश्वरी मनोहरा नगरपालिका अहिले अन्य स्थानीय तहका लागि सिकाइको केन्द्र बनेको छ। नगरपालिकाले सञ्चालन गरिरहेको जग्गा प्रशासन सेवाबारे जानकारी लिन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसहितको टोली कागेश्वरी मनोहरा पुगेको छ।
महर्जनसहित ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दाश श्रेष्ठ, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्याल तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरूले सेवाको कार्यप्रक्रिया, उपलब्धि र सञ्चालनका क्रममा देखिएका चुनौतीबारे जानकारी लिएका हुन्।
टोलीलाई कार्यवाहक नगरप्रमुख राममणि पुडासैनी, प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार शाहलगायतले स्वागत गर्दै सेवा सञ्चालनको अनुभव, चुनौती र समाधानका उपायबारे जानकारी गराएका थिए।
गत असार १ गतेदेखि सेवा सञ्चालनमा ल्याएको कागेश्वरी मनोहरा देशका ७५३ स्थानीय तहमध्ये मालपोत तथा नापीसम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने पहिलो नगरपालिका हो। नगरपालिकाले हालसम्म १ हजार ७०० भन्दा बढी जग्गाधनीलाई लालपुर्जा वितरण गरिसकेको छ भने जग्गा रजिस्ट्रेसन शुल्कबाट २५ करोड रुपैयाँभन्दा बढी र भू-सेवाबाट ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
नगरपालिकाबाट जग्गा लिखत पारित, स्वामित्व हस्तान्तरण, जग्गा बाँडफाँट, नामसारी, नापी नक्सासम्बन्धी कामलगायतका सेवा प्रवाह हुँदै आएका छन्।
ललितपुर महानगर प्रमुख महर्जनले कागेश्वरी मनोहराको अभ्यास देशकै लागि उदाहरणीय रहेको उल्लेख गर्दै यहाँको सफल अनुभव र असल अभ्यासबाट सिकेर ललितपुर महानगरपालिकामा समेत छिट्टै जग्गा प्रशासन सेवा सञ्चालन गर्ने योजना रहेको बताए।
नगरप्रमुख उपेन्द्र कार्कीको पहल, समन्वय र सक्रियतामा सुरु भएको यस सेवाले नागरिकलाई मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता हटाउनुका साथै समय र खर्च बचत गरेको छ।
स्थानीय तहमै जग्गा प्रशासन सेवा उपलब्ध गराउने कागेश्वरी मनोहराको यो सफल अभ्यासले ‘गाउँगाउँमा सिंहदरबार’को अवधारणालाई व्यवहारमै उतारेको छ। अहिले यो सेवा अन्य स्थानीय तहका लागि समेत अनुकरणीय नमुना बन्दै गएको छ।



























