काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनअघि जनतासामु गरेका प्रतिबद्धताविपरीत सरकारले काम गर्न नहुने बताएका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नेतृत्वको सरकार निर्वाचनमा एउटा कुरा गर्ने र सत्तामा पुगेपछि अर्कै व्यवहार देखाउने बाटोमा लागेको आरोप लगाए।
धादिङ–२ को क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले लोकतन्त्र, विधिको शासन र संसदीय व्यवस्थामाथि चुनौती खडा हुने गरी सरकार प्रस्तुत भए कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी दिए।
उनले सरकारका कामकारबाहीबारे कांग्रेसले सूक्ष्म अध्ययन गरिरहेको र तथ्य तथा प्रमाणसहित जनतामाझ वास्तविकता सार्वजनिक गर्ने बताए।
भ्रष्टाचारविरुद्धको अभियानमा पनि पार्टी दृढतापूर्वक अघि बढ्ने उनको भनाइ थियो।
सरकारले नागरिक र संसद्लाई उपेक्षा गर्दै संसदीय व्यवस्थामाथि नै प्रहार गरिरहेको आरोप लगाउँदै पौडेलले यस्ता विषयमा कांग्रेसले निरन्तर खबरदारी गर्ने स्पष्ट पारे।

























