काठमाडौं । पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएपछि नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको छ।
कतारमा जारी प्रतियोगितामा १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमै ७२ रनमा समेटियो। नेपालको ब्याटिङ निकै कमजोर रहँदा ६ जना खेलाडीले खातासमेत खोल्न सकेनन्।
नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए भने बसिर अहमदले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४२ ओभरमा १६८ रनमा अलआउट भएको थियो। उसका रोहेल नाजिरले सर्वाधिक ६४ रन बनाए। नेपालका राशिद खानले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए।
तर बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा सम्हालिन नसक्दा नेपालले हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिनुपरेको हो।
























