८ मंसिर, काठमाडौं । लामो प्रतीक्षापछि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने तय भएको छ ।
प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार आजदेखि पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ खेलका प्रतिस्पर्धा सुरु हुनेछन् ।
प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन् । अन्य खेल बर्दिया, सल्यान, पश्चिम रुकुम, दैलेख, कालिकोट र नेपालगञ्जमा आयोजना गरिनेछ ।
प्रतियोगिताका लागि वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा भइसकेको छ । विभिन्न प्रदेशका खेलाडीहरू पनि सुर्खेत पुगिसकेका छन् ।
प्रतियोगिताको उद्घाटन मंसिर १६ गते र समापन मंसिर २७ गते सुर्खेत रंगशालामा हुने कार्यक्रम छ ।
























