Skip

Hamro Sanchar

दशौँ राष्ट्रिय खेलकुदलाई साथ दिन कर्णालीवासीलाई बालेनको आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ६ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन नागरिकस्तरबाटै साथ र समर्थन जुटाउन आग्रह गरेका छन्।

फेसबुकमार्फत कर्णालीलाई सम्बोधन गर्दै उनले मङ्सिर ८ गतेदेखि सुरु हुने प्रतियोगिताका मुख्य खेल र मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने औपचारिक उद्घाटनबारे जानकारी दिएका छन्।

प्रतियोगितामा देशभरबाट ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारी सहभागी हुनेछन्। कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुदले नयाँ खेल प्रतिभाको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने शाहको विश्वास छ।

उनले खेलकुदमार्फत कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउने अवसरसमेत मिल्ने उल्लेख गरेका छन्।

हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्म नौ संस्करण मात्रै सम्पन्न हुनु दुःखद रहेको भन्दै आगामी दिनमा प्रतियोगितालाई नियमित सञ्चालन र स्तरवृद्धिमा सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

दशौँ राष्ट्रिय खेलकुदले खेलकुदको विकाससँगै राष्ट्रिय एकता र आपसी सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिएका छन्।


प्रतिकृया दिनुहोस्