काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणअघि राजनीतिक दल तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले प्रधानमन्त्रीको कार्यशैली र आन्तरिक राजनीतिक विषयमा गम्भीर असहमति रहे पनि राष्ट्रिय हितका सवालमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
उनले देशको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण कूटनीतिक भ्रमणअघि सरोकारवाला निकाय र राजनीतिक दलसँग परामर्श नगरी अघि बढ्नु संस्थागत अभ्यास र लोकतान्त्रिक मूल्यअनुकूल नभएको उल्लेख गरेका छन्।
यद्यपि, आन्तरिक मतभेदभन्दा राष्ट्रिय हित र स्वाभिमान माथि रहने उनको भनाइ छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा आन्तरिक विमतिलाई थाती राखेर देशको पक्षमा उभिनु सबैको साझा दायित्व भएको उनले बताएका छन्।भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले नेपालले लामो समयदेखि उठाउँदै आएका द्विपक्षीय मुद्दालाई स्पष्ट अडान र उच्च प्राथमिकताका साथ प्रस्तुत गर्ने विश्वाससमेत पौडेलले व्यक्त गरेका छन्।
नेपाल–भारत सम्बन्धलाई सार्वभौम समानता, आपसी विश्वास र सम्मानका आधारमा थप सुदृढ बनाउँदै राष्ट्रिय हितमा ठोस उपलब्धि हासिल गर्न भ्रमण सफल होस् भन्दै उनले प्रधानमन्त्रीलाई शुभकामना दिएका छन् ।
























