Skip

Hamro Sanchar

कांग्रेसको समर्थन बालेनलाई, तर भारत भ्रमणअघि प्रतिपक्षसँग छलफल नगरेकोमा असन्तुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ५ गते


Advertisement

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणप्रति समर्थन जनाउँदै भ्रमण सफल र उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरेको छ।

तर, महत्वपूर्ण विदेश भ्रमणअघि प्रमुख प्रतिपक्षसहित अन्य राजनीतिक दलसँग छलफल नगरेको भन्दै सरकारप्रति असन्तुष्टि पनि जनाएको छ।

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा प्रधानमन्त्रीलाई पार्टीको पूर्ण साथ रहने बताएका हुन्।

कांग्रेसले जलवायु परिवर्तन, पर्यटन, व्यापार, ऊर्जा, हवाई सम्पर्क, सीमा व्यवस्थापन तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा सरकारलाई सुझाव दिने तयारी गरेको जनाएको छ। यसका लागि विषयविज्ञहरूसँग आन्तरिक छलफलसमेत गरिएको थियो।

तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल र विज्ञहरूसँग परामर्श गर्न आवश्यक नठानेपछि औपचारिक सुझाव नदिएको कांग्रेसको भनाइ छ।

कांग्रेसले सरकारसँग राजनीतिक असहमति भए पनि नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध मजबुत बनाउने सवालमा प्रधानमन्त्रीको साथमा उभिने स्पष्ट पारेको छ।

साथै भ्रमण प्रचारमुखी नभई विगतका सहमति कार्यान्वयन, विद्यमान समस्या समाधान र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाउने ठोस उपलब्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ।

 


प्रतिकृया दिनुहोस्