५ मंसिर, काठमाडौं । घोप्टेभीरमा निरन्तर पहिरो खस्न थालेपछि नागढुंगा–मुग्लिन सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
चितवन प्रशासनका अनुसार आजदेखि अर्को सूचना जारी नभएसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन बन्द गरिनेछ।
पहिरो खस्ने क्रम नरोकिएपछि जोखिमयुक्त ढुंगा र माटो हटाउन सडक बन्द गरेर काम अघि बढाउन लागिएको हो। उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ।
बिहीबारदेखि घोप्टेभीरमा पहिरो खसिरहेको र निरन्तर जोखिम बढेकाले पहिरो पन्छाउन कठिन भइरहेको प्रशासनले जनाएको छ।
सडक खुलाउन पहिरो हटाउने काम पूरा भएपछि मात्रै यातायात सञ्चालन गरिनेछ।
























