५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने फाइनलमा लुम्बिनी उपाधि जोगाउने र सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी फाइनल पुगेको थियो। सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुनरागमन गरेको हो।
लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम यसअघिका दुवै संस्करणमा उपविजेतामै रोकिएको थियो।
लुम्बिनी भने लगातार दोस्रो उपाधि जित्दै इतिहास बनाउने अभियानमा छ। यी दुईबीचका पाँच भेटमा लुम्बिनीले ३ र सुदूरपश्चिमले २ खेल जितेका छन्।
विजेताले १ करोड ५० लाख, उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

























