काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले आगामी मंसिर २६ देखि २८ गतेसम्म हुने पार्टीको आठौं महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन्।
उनले पार्टीमा पुस्तान्तरण र रूपान्तरण आवश्यक रहेको भन्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए।
शाहीले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसहित पूर्वअध्यक्ष कमल थापा, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई सक्रिय नेतृत्वबाट माथि राखेर सर्वोच्च नेताको भूमिका दिन प्रस्ताव गरेका छन्।
उनीहरूको अनुभव र मार्गदर्शनमा युवाले पार्टी सञ्चालन गर्नुपर्ने उनको धारणा छ। पार्टीमा समयअनुसार परिवर्तन नभए आगामी निर्वाचनमा राप्रपा थप कमजोर बन्न सक्ने चेतावनी दिँदै शाहीले युवाको नेतृत्वबिना पार्टीको भविष्य सुनिश्चित नहुने बताए।

























