Skip

Hamro Sanchar

भदौ २३ र २४ का घटनालाई सामान्य रूपमा लिन हुँदैन : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ८ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन्।

उनले ती घटनाको गहिराइमा पुगेर कारण र समाधान खोज्नुपर्नेमा जोड दिएका छन

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले २०७२ सालपछि नेपालको राजनीति सत्ता केन्द्रित हुँदै गएको र पछिल्लो १० वर्षमा जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्दा यस्ता परिस्थिति सिर्जना भएको बताए।

उनले पछिल्लो समय मुलुकमा जनसाङ्ख्यिक अवस्था, बसोबासको स्वरूप र अर्थतन्त्रमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै विश्वमा नयाँ सञ्चार माध्यमको प्रभावसमेत बढेको बताए। तर बदलिँदो परिस्थितिअनुसार राज्यले जनतालाई सेवा र परिणाम दिन नसकेको उनको भनाइ थियो।

थापाले भदौ २३ गते भएको दमन र २४ गते भएको आपराधिक घटनालाई कांग्रेसले फरक–फरक रूपमा विश्लेषण गरेको बताए।

उनले भने, ‘भदौ २३ मा भएको दमन र २४ गते भएको आपराधिक घटना हुन् भनेर हामीले महाधिवेशनबाट भनेका छौँ। यी घटनालाई कम आँक्न हुँदैन भन्ने निष्कर्ष निकालेका छौँ।’

राष्ट्रिय पार्टी भएकाले कांग्रेसले यस्ता घटनालाई राजनीतिक अंकगणितका आधारमा मात्रै हेर्न नहुने उनको धारणा छ। घटनाको वास्तविक कारण पहिचान गरी भविष्यमा यस्ता परिस्थिति दोहोरिन नदिन ठोस रणनीति बनाउनुपर्नेमा उनले जोड दिएका छन्।


प्रतिकृया दिनुहोस्