Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शिक्षक कर्मचारीको अधिकार सुनिश्चित गर्न केन्द्रीय राजनीतिमा आउन बाध्य भए: शत्रुघ्न गुप्ता

सुदिप बर्देवा प्रकाशित : २०८३ असोज, २१ गते


Advertisement

काठमाडौं, असोज २१- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (पेसागत तथा बुद्धिजीवीतर्फ) पदका लागि शिक्षाविद् तथा समाजसेवी सह–प्राध्यापक शत्रुघ्न प्रसाद गुप्ताले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी दर्तापछि हाम्रोसञ्चारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गुप्ताले नेपाली कांग्रेसले अघि सारेको रुपान्तरणको एजेण्डालाई आफूले समर्थन गर्दै आएको बताए। उनले कांग्रेसको केन्द्रीय राजनीतिमार्फत सामुदायिक क्याम्पस तथा उच्च शिक्षा क्षेत्रका समस्या समाधानका लागि आवाज उठाउने उद्देश्यले उम्मेदवारी दिएको स्पष्ट पारे।

गुप्ताका अनुसार नेपालका सामुदायिक क्याम्पस तथा समग्र उच्च शिक्षा क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। विशेषगरी सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीका पेशागत अधिकार, सेवा–सुविधा र स्तर निर्धारणका विषय लामो समयदेखि सम्बोधन हुन नसकेको उनको भनाइ छ।

“नेपालमा सामुदायिक क्याम्पसहरू र खासगरी उच्च शिक्षा अत्यन्तै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छन्। यो अवस्थाबाट सहजतातर्फ लैजान र नयाँ सोचका साथ अघि बढाउन राजनीतिक तहबाटै पहल आवश्यक छ,” गुप्ताले भने।

सामुदायिक क्याम्पसहरूको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्षसमेत रहेका गुप्ताले देशभरका करिब ६५० सामुदायिक क्याम्पसका साझा समस्या राजनीतिक रूपमा समाधान गर्ने उद्देश्यले आफू पेसागत तथा बुद्धिजीवीतर्फबाट कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेको बताए।

उनले सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीको पेशागत हकहितका विषयमा राजनीतिक तहमा प्रभावकारी आवाज उठाउने प्रतिनिधित्वको अभाव रहेको दाबी गरे।

“सामुदायिक क्याम्पसमा कार्यरत करिब दश हजार शिक्षक–कर्मचारीको स्तर निर्धारण हुन सकेको छैन। क्याम्पसहरूको जुन स्थान र पहिचान हुनुपर्ने हो, त्यो पनि स्थापित हुन सकेको छैन,” उनले भने, “त्यसैले मेरो उम्मेदवारी सामुदायिक क्याम्पस र त्यहाँ कार्यरत शिक्षक–कर्मचारीको पहिचान र अधिकारको आन्दोलन पनि हो।”

गुप्ताले आफू केन्द्रीय सदस्यमा निर्वाचित भए सामुदायिक क्याम्पस, शिक्षक तथा कर्मचारीका समस्या कांग्रेसको नीति निर्माण र राजनीतिक बहसको विषय बनाउने बताए। उनका अनुसार उच्च शिक्षा क्षेत्रका समस्या केवल शैक्षिक क्षेत्रभित्र सीमित नरहेकाले त्यसको दीर्घकालीन समाधानका लागि राजनीतिक प्रतिबद्धता आवश्यक छ।

“नेपाली कांग्रेसले अहिलेसम्म यी विषयलाई पर्याप्त रूपमा बुझ्न सकेको छैन, र हामीले पनि पार्टीलाई बुझाउन सकेका छैनौँ। त्यसैले बाध्य भएर कांग्रेसको केन्द्रीय राजनीतिमा आएको हुँ,” गुप्ताले स्पष्ट पारे।

उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि सामुदायिक क्याम्पस, उच्च शिक्षा तथा शिक्षक–कर्मचारीका पेशागत सवाललाई कांग्रेसको केन्द्रीय तहसम्म पुर्‍याउने प्रयासका रूपमा व्याख्या गरेका छन्।


प्रतिकृया दिनुहोस्