काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा अपाङ्गता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पुनर्स्थापना र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ‘समावेशी भविष्य : कागेश्वरी मनोहरा नगरपालिकाका अपाङ्गता भएका बालबालिकाको सशक्तीकरण परियोजना’ सञ्चालन हुने भएको छ ।
बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको एसओएस बालग्राम नेपाल र कागेश्वरी मनोहरा नगरपालिकाबीच परियोजना सञ्चालनसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक डा. गङ्गा बहादुर गुरुङले हस्ताक्षर तथा सम्झौतापत्र हस्तान्तरण गरेका छन् ।
परियोजनाले विशेषगरी नगरपालिकाभित्र रहेका अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य, शिक्षा र पुनर्स्थापनामा पहुँच बढाउने लक्ष्य लिएको छ । बालबालिकाको आवश्यकता र परियोजनाको मापदण्डअनुसार आवश्यक सहायक सामग्री तथा उपकरण उपलब्ध गराउने व्यवस्था पनि परियोजनामा समेटिएको छ ।
त्यस्तै, अपाङ्गता भएका बालबालिकाका अभिभावक तथा हेरचाहकर्ताको क्षमता अभिवृद्धि, आवश्यक परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । बालबालिकालाई परिवार, विद्यालय तथा समुदायमा अझ सक्रिय रूपमा सहभागी गराउँदै उनीहरूको सामाजिक सहभागिता बढाउने लक्ष्यसमेत परियोजनाले लिएको छ ।
परियोजनामार्फत बालअधिकार, बाल संरक्षण, समावेशीकरण र अपाङ्गतासम्बन्धी विषयमा समुदाय तथा सरोकारवालाबीच सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । यसबाट अपाङ्गता भएका बालबालिकाप्रति सकारात्मक सामाजिक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एसओएस बालग्राम नेपालले अभिभावकविहीन तथा अभिभावक गुमाउने जोखिममा रहेका बालबालिकाको संरक्षण, स्याहार, शिक्षा, सीप र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्दै उनीहरूलाई आत्मनिर्भर बनाई समाजमा पुनर्स्थापना गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकामा सञ्चालन हुने यो परियोजना प्रारम्भिक रूपमा करिब एक वर्षसम्म सञ्चालन हुनेछ । आवश्यकता तथा परियोजनाको प्रगतिका आधारमा सम्झौताको अवधि थप गर्न वा सम्झौतामा आवश्यक संशोधन गर्न सकिने व्यवस्था गरिएको छ ।
परियोजना कार्यान्वयनका क्रममा बालबालिकाको गोपनीयता, सुरक्षा, संरक्षण र बालमैत्री मापदण्डलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।
नगरपालिका र एसओएस बालग्रामबीचको यो सहकार्यले अपाङ्गता भएका बालबालिकालाई आवश्यक सहयोग, अवसर र पहुँच प्रदान गर्दै उनीहरूको आत्मनिर्भर र सम्मानजनक भविष्य निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
































