बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विषयले विवाद चर्किरहेका बेला नियुक्तिको विरोधमा उत्रिएका अभियानकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।
‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खान र वाजिउद्दिन मुसलमानलाई रुपन्देही प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको हो।
उनीहरूमाथि सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोप लगाइएको छ।
आनीको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आएको अभियानले सोमबार साँझ लुम्बिनीको पर्साचोकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ९गनेश० को पुत्ला जलाएको थियो। साथै, मन्त्रीको राजीनामासमेत माग गरिएको थियो।
अभियानका सहसंयोजक रामविकास चौधरीले संयोजक खानलाई घरमा सुतिरहेका बेला मध्यरातमा पक्राउ गरिएको बताएका छन्। उनले पक्राउप्रति आपत्ति जनाउँदै खानको रिहाइको माग गरेका छन्।
गत असोज ३० गते मन्त्रिपरिषद्ले आनी छोइङलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि महाअभियानले निर्णय सच्याउन माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ। नियुक्ति स्थानीयको भावना र बौद्ध दर्शनको मर्मविपरीत रहेको अभियानको दाबी छ।































