काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिले त्यसपछि हुने प्रदेश तथा जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था पुनः स्मरण गराएको छ।
असोज १७ गते जारी प्रेस विज्ञप्तिमार्फत कांग्रेसले पार्टीको विधान २०१७ ९संशोधनसहित० अनुसार कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा त्यसभन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिको पदमा उम्मेदवार बन्न नसक्ने व्यवस्था रहेको जनाएको हो।
यसअनुसार १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका व्यक्ति त्यसपछि हुने प्रदेश वा जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने कांग्रेसले स्पष्ट पारेको छ।
त्यस्तै, पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट पदेन प्रतिनिधिका रूपमा आएका व्यक्तिले महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कार्यसमितिमा उम्मेदवारी दिन नपाउने वैधानिक व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ। प्रेस विज्ञप्ति सदस्य–सचिव राजु कटुवालले जारी गरेका हुन्।
कांग्रेसको आधिकारिक वेबसाइटमा १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन तथा निर्वाचन प्रक्रिया अघि बढिरहेको उल्लेख छ।































