काठमाडौं । रोहितकुमार पौडेलको शतकीय इनिङ्सको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनायो ।
नेपालका लागि कप्तान रोहितले १२७ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाए । यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक हो ।
गुल्सनकुमार झाले ४८, बसिर अहमदले ३० र अर्जुन कमालले २३ रनको योगदान दिए । रोहितले गुल्सनसँग छैटौँ विकेटका लागि ८२ रन तथा बसिरसँग चौथो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए ।
क्यानडाका अखिल कुमारले चार विकेट लिए भने सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट हात पारे ।अब नेपालले जितका लागि क्यानडालाई २३६ रनमा रोक्नुपर्नेछ ।































