काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि नेपाली सेनाले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य सुरु गरेको छ।
सेनाले पहिरोको जोखिममा रहेको जगत् गाउँबाट ६ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारेको छ।
आइतबार बिहान करिब ४स्३० बजे चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो र गेग्रानसहितको बाढी आएको थियो।
बाढीले नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा क्षति पुर्याएको जानकारी प्राप्त भएपछि सेना परिचालन गरिएको हो।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धार टोली हवाई र स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले बाढीबाट प्रभावित स्थानको अवस्था र सम्भावित अवरोधको मूल्यांकन गरिरहेको छ।
काठमाडौंमा रहेको कम्पोजिट क्विक रेस्पोन्स टिमसमेत हवाईमार्गबाट घटनास्थलमा खटिएको छ। सेनाले नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।






























