२५ असोज, गोरखा । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुल बगाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुःख व्यक्त गरेको छ।
रास्वपाका तर्फबाट जारी सन्देशमा बाढीबाट प्रभावित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जोखिम कायमै रहेकाले सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न पनि अपिल गरिएको छ।
विपद्का बेला प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन पार्टीका सदस्यहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी सक्रिय रूपमा जुट्न निर्देशनसमेत दिइएको छ।































