२५ असोज, काठमाडौं । रोहित पौडेलको शतकीय पारीको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय शृङ्खलामा क्यानडालाई २४ रनले पराजित गरेको छ।
ओमान क्रिकेट एकेडेमीमा आइतबार भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमै समेटियो। क्यानडामाथिको यो जितसँगै नेपालले लिग–२ को अंकतालिकामा आफ्नो स्थान सुधार गरेको छ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालको इनिङ्स सम्हाल्ने क्रममा कप्तान रोहित पौडेलले १२७ बलमा ८ चौका र १ छक्कासहित १०१ रन बनाए।
गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन जोडे भने अर्जुन कुमालले २३ रनको योगदान दिए।
क्यानडाका लागि अखिल कुमारले ४ विकेट लिँदा सुख्जिन्दर सिंहले ३ तथा जहिर शिर्जादले २ विकेट लिए।
२३६ रनको लक्ष्य पछ्याएको क्यानडाका आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।
नेपालका बलरमध्ये करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान २ विकेट लिए।
जितपछि नेपाल ३३ खेलबाट २६ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। ३४ खेलबाट २५ अंक रहेको क्यानडा सातौं स्थानमा झरेको छ।
यद्यपि, यसअघि ओमानसँग क्यानडा पराजित भएको खेलपछि नै नेपालको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भइसकेको छ। अब नेपालको मुख्य लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० मान्यता जोगाउनु हुनेछ।































