१३ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन्।
सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्तिको दुरुपयोगबारे खोजी गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक दायित्व भएको उल्लेख गर्दै उनले पत्रकारलाई हतोत्साहित पार्ने सरकारी कदम विधिको शासनविपरीत रहेको बताएका छन्।
समाचारप्रति आपत्ति भए कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै पौडेलले पक्राउ परेका पत्रकारलाई तत्काल ससम्मान रिहा गर्न तथा सञ्चारगृहमाथिको अनावश्यक हस्तक्षेप बन्द गर्न माग गरेका छन्।
आफ्ना कमजोरी लुकाउन सञ्चारमाध्यमलाई तर्साउने प्रयास तत्काल रोक्न सरकारलाई सचेत गराउँदै उनले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।

























