काठमाडौं । स्वास्थ्य सेवा प्रवाह र कार्यसम्पादन मूल्यांकनमा कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये तेस्रो स्थान हासिल गर्न सफल भएको छ। स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, सेवा विस्तार, स्वास्थ्य संस्थाको व्यवस्थापन र नागरिकको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धिका लागि गरिएका प्रयासले नगरपालिकालाई जिल्लाकै उत्कृष्ट तीन स्थानीय तहभित्र पुर्याएको हो।
काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा कागेश्वरी मनोहराले ७३ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको हो। कार्यक्रममा नगरपालिकालाई उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानसमेत गरिएको छ।
नतिजाअनुसार चन्द्रागिरि नगरपालिका ७५ अंकसहित पहिलो र शंखरापुर नगरपालिका ७३.५ अंकसहित दोस्रो भएका छन्। कागेश्वरी मनोहरा दोस्रो स्थानको शंखरापुरभन्दा जम्मा ०.५ अंकले पछाडि रहँदै तेस्रो भएको हो।
जिल्लास्तरीय वार्षिक समीक्षामा मातृ तथा बाल स्वास्थ्य, खोप सेवा, पोषण, परिवार नियोजन, रोग नियन्त्रण, स्वास्थ्य संस्थाको व्यवस्थापन, स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तर र स्वास्थ्य सूचना व्यवस्थापनलगायतका सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरिएको थियो।
स्वास्थ्य सेवालाई नगर प्रमुखको प्राथमिकता
कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकास, सेवा विस्तार र स्वास्थ्य संस्थाको व्यवस्थापनमा जोड दिँदै आएको छ। नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा नगर अस्पतालको स्तरोन्नति, विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धिका प्रयास अघि बढाइएका छन्।
स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका नगर प्रमुख कार्कीले यस क्षेत्रमा आवश्यक बजेट तथा स्रोतसाधनको व्यवस्थापनलाई समेत महत्त्व दिँदै आउनुभएको छ। स्वास्थ्य सेवालाई भवन र उपकरण निर्माणमा मात्र सीमित नराखी दक्ष जनशक्ति, उपचार सेवा, औषधि व्यवस्थापन र विपन्न नागरिकको उपचारमा समेत नगरपालिकाले लगानी र स्रोत परिचालन गर्दै आएको छ।
कुनै समय सीमित पूर्वाधार र जनशक्तिका कारण सामान्य उपचारका लागि समेत अन्य अस्पतालमा निर्भर हुनुपर्ने अवस्थाबाट नगर अस्पताललाई दैनिक एक हजारसम्म सेवाग्राहीलाई सेवा दिन सक्ने अवस्थामा पुर्याउनु यसै प्रयासको एउटा उदाहरण हो।
नगरपालिकाले नगर अस्पताललाई १०० शैय्याको सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य संस्थामार्फत आधारभूत सेवा विस्तार, प्रसूति सेवा, खोप, पोषण तथा मातृशिशु स्वास्थ्य कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ।
नगरपालिकामा पाँचवटा हेल्थपोस्ट, एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीनवटा सहरी स्वास्थ्य केन्द्र र एउटा आयुर्वेद औषधालय रहेका छन्। त्यसैगरी, नगर अस्पतालसहित चारवटा बर्थिङ सेन्टरमार्फत प्रसूति सेवा उपलब्ध गराउने व्यवस्था छ।
यी स्वास्थ्य संस्थामार्फत नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, खोप, पोषण तथा प्रसूति सेवाको पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ।
नगरपालिकाको स्वास्थ्य क्षेत्रको सुधार बुझ्न कागेश्वरी मनोहरा नगर अस्पतालको पछिल्लो अवस्थालाई पनि हेर्न सकिन्छ।
विगतमा दैनिक करिब १३० जना सेवाग्राही आउने गरेको नगर अस्पतालमा अहिले दैनिक एक हजारसम्मलाई सेवा दिन सक्ने अवस्था बनेको छ। अस्पतालले विशेषज्ञ चिकित्सकमार्फत आँखासम्बन्धी उपचार तथा सामान्य शल्यक्रिया, दन्त उपचारअन्तर्गत अर्थोडोन्टिक्स र प्रोस्थोडोन्टिक्स, फिजियोथेरापी तथा मुटुरोग परीक्षणजस्ता सेवा विस्तार गरेको छ।
एमडीजीपी चिकित्सकसहित २४ घण्टा आकस्मिक सेवा सञ्चालन गरिएको छ। फेमिली फिजिसियनमार्फत सेवा प्रवाह, हाईकेयर युनिट, आइसोलेसन युनिट तथा बिरामीको आवश्यकताअनुसार अन्तरङ्ग सेवाका शय्या विस्तार गरिएको छ। अस्पतालमा छुट्टै स्तनपान कक्ष र बालमैत्री कक्षको व्यवस्थासमेत गरिएको छ।
त्यसैगरी, नगरपालिकाका तीनवटा वडामा दक्ष चिकित्सक र प्रयोगशालासहित मिनी अस्पतालको अवधारणामा स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ।
स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न नगर अस्पतालले सामाजिक सेवा इकाइ सञ्चालन गरेको छ। यसमार्फत आर्थिक अवस्था कमजोर भएका गरिब, विपन्न तथा असहाय नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
यो समाचार पढ्नुहोस्- जीर्ण अवस्थाबाट १०० शैय्याको लक्ष्यसम्म: कागेश्वरी मनोहरा अस्पतालको यसरी भयो कायापलट
























