हेटौँडा । बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले निरन्तर वर्षा भएपछि कान्ति राजमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको हो।
बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण सडकमा बाढीपहिरो जाने जोखिम बढेको प्रशासनले जनाएको छ। सम्भावित विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको हो।
प्रशासनले तोकिएको अवधिमा सवारीसाधन नचलाउन र अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
























