Skip
आज : २०८३ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जीर्ण अवस्थाबाट १०० शैय्याको लक्ष्यसम्म: कागेश्वरी मनोहरा अस्पतालको यसरी भयो कायापलट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १२ गते


Advertisement

काठमाडौं । माथि भएका २ वटा तस्बिरलाई सँगै राखेर हेर्दा लाग्छ – यो एउटै अस्पताल हो त? हो, यी कागेश्वरी मनोहरा नगर अस्पतालकै विगत र वर्तमान झल्काउने तस्बिर हुन्। एउटै अस्पतालको फरक समयका यी तस्बिरले सीमित पूर्वाधारबाट आधुनिक स्वास्थ्य सेवातर्फ अघि बढिरहेको परिवर्तनको कथा बोल्छन्।

यो तस्बिरले १२ वर्ष अघिको अवस्था बोल्छ।

रातो इट्टाको जिर्ण एकतले घर। भित्तामा माटो, झ्यालका काठ भाँचिएका। छतमा घाँस उम्रिएको। भवन हेर्दा उपचार गर्ने भन्दा भत्किने हो कि भन्ने डर लाग्थ्यो। वरिपरि खाली खेत र लामो घाँस। कम्पाउण्ड, गेट, पार्किङ केही थिएन। २ वटा मोटरसाइकल घाँसमै थन्किएका छन्।

त्यो बेला यहाँ दैनिक १३० जना मात्र आउँथे। विशेषज्ञ थिएनन्, उपकरण थिएनन्। मानिस बाध्यताले आउँथे।

तर, अहिले अस्पतालको स्वरूप फेरिएको छ। नीलो र सेतो रङ्गले चम्किलो बनेको आधुनिक भवन। अगाडि आकर्षक कम्पाउण्ड, हरियाली र व्यवस्थित गेट। बाहिर एलिडी साइन बोर्डमा “कागेश्वरी मनोहरा नगर अस्पताल” र सम्पर्क नम्बर टल्केको छ। भित्र फराकिलो लवी र टोकन प्रणाली। अहिले दैनिक १ हजार जनाले सेवा लिन्छन्।

कुनै समय सीमित पूर्वाधार, जनशक्ति र स्वास्थ्य सेवाका कारण सामान्य उपचारका लागि समेत अन्य अस्पतालमा निर्भर हुनुपर्ने अवस्था रहेको कागेश्वरी मनोहरा नगर अस्पतालले पछिल्लो समय सेवा विस्तार, आधुनिक प्रविधिको प्रयोग, जनशक्ति व्यवस्थापन र आर्थिक पारदर्शिताका क्षेत्रमा उल्लेखनीय सुधार गरेको छ। दैनिक करिब १३० जना सेवाग्राही आउने अवस्थाबाट अहिले एक हजारसम्मलाई सेवा दिन सक्ने अवस्थामा पुगेको अस्पतालले अब १०० शैय्याको सुविधासम्पन्न अस्पतालका रूपमा स्तरोन्नति हुने लक्ष्य अघि सारेको छ।

जीर्ण अवस्थामा रहेको पुरानो भवन

प्राप्त प्रगति विवरणअनुसार स्वास्थ्य सेवा प्रवाहदेखि भौतिक पूर्वाधार, उपकरण, कर्मचारी व्यवस्थापन र आर्थिक प्रशासनसम्मका क्षेत्रमा सुधारका काम अघि बढाइएको छ। अस्पतालले सार्वजनिक गरेको विवरणमा सेवा प्रवाह तथा व्यवस्थापनसँग सम्बन्धित ५६ सुधारका बुँदा समेटिएका छन्। कार्यकारी निर्देशक रामप्रसाद पौडेलले प्रस्तुत गरेको अर्को कार्यप्रगति विवरणमा भने ८२ वटा क्षेत्रमा सुधार गरिएको उल्लेख छ।

यी सुधारले अस्पतालको सेवा क्षमता विस्तार हुनुका साथै स्थानीय नागरिकलाई आफ्नै नगरमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर बढेको अस्पतालको भनाइ छ।

नगर प्रमुख उपेन्द्र कार्कीले नगर अस्पतालको विकासलाई नागरिकको स्वास्थ्य र सुविधासँग जोडिएको महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य नगरवासीले सामान्य उपचारदेखि विशेषज्ञ स्वास्थ्य सेवासम्म आफ्नै नगरमा सहज र सुलभ रूपमा पाउन सकून् भन्ने हो। उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम होस्, आर्थिक अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् र हरेक नागरिकले सम्मानपूर्वक स्वास्थ्य सेवा पाउन सकून् भन्ने हाम्रो चाहना छ। विगतमा सीमित सुविधा रहेको अस्पताललाई आजको अवस्थामा ल्याउन हामीले निरन्तर प्रयास गरेका छौँ। अब यसलाई १०० शैय्याको सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्दै आवश्यक चिकित्सक, आधुनिक उपकरण र गुणस्तरीय सेवा विस्तार गर्ने हाम्रो लक्ष्य छ।”

अस्पतालबाट दिने बिशेषज्ञसहितका सेवाहरुलाई प्रभावकारी र जनमैत्री बनाउदै गएकाले आम नागरिकको विश्वास जित्न सकेको नगरप्रमुख कार्कीले बताउनुभयो ।

प्रदेशकै नमुना अस्पतालका रुपमा विकसित हुँदै गरेको अस्पतालको १०० शैय्यामा स्तरोन्नतिसँगै आधुनिक शल्यक्रिया कक्ष, प्रसुतिगृह, आइसीयु, एनआइसीयु, डाइलाइसिस्, ट्रमा सेन्टर, ल्याव र इमेजिङ सेवा विस्तार गर्ने लक्ष्य लिइएको प्रमुख कार्कीले जानकारी दिनुभयो ।

दैनिक १३० सेवाग्राहीबाट एक हजारसम्म

अस्पतालमा विगतमा दैनिक करिब १३० जना सेवाग्राही आउने गरेकोमा अहिले दैनिक एक हजारसम्मलाई सेवा दिन सक्ने अवस्था बनेको छ। यससँगै विशेषज्ञ चिकित्सकको उपलब्धता, उपचार सेवाको विविधता र स्वास्थ्य उपकरणको व्यवस्थामा समेत विस्तार गरिएको छ।

अस्पतालमा विशेषज्ञ चिकित्सकमार्फत विभिन्न सेवा सञ्चालनमा ल्याइएको छ। आँखासम्बन्धी उपचार तथा सामान्य शल्यक्रिया, दन्त उपचारअन्तर्गत अर्थोडोन्टिक्स र प्रोस्थोडोन्टिक्स, फिजियोथेरापी तथा मुटुरोग परीक्षणजस्ता सेवा विस्तार गरिएको छ।

एमडीजीपी चिकित्सकसहित २४ घण्टा आकस्मिक सेवा सञ्चालन गरिएको छ भने फेमिली फिजिसियनमार्फत सेवा प्रवाह, हाईकेयर युनिट र आइसोलेसन युनिटको व्यवस्था गरिएको छ। बिरामीको चापअनुसार अन्तरङ्ग सेवाका शैय्या विस्तार गर्नुका साथै छुट्टै स्तनपान कक्ष र बालमैत्री कक्ष निर्माण गरी सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।

अस्पतालले सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले नगरपालिकाका तीनवटा वडामा दक्ष चिकित्सक र प्रयोगशालासहित मिनी अस्पतालको अवधारणाअनुसार स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। यसबाट नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सो समयमा कार्यरत कर्मचारीहरु

लाइन व्यवस्थापनदेखि डिजिटल प्रणालीसम्म

सेवाग्राहीलाई सहज र व्यवस्थित रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालले प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। लामो समय लाइनमा बस्नुपर्ने समस्या कम गर्न टोकन प्रणाली लागू गरिएको छ भने चिकित्सक तथा कर्मचारीको दैनिक कार्यतालिका तयार गरी जिम्मेवारी र खटनपटनलाई व्यवस्थित बनाइएको छ।

अस्पतालको आफ्नै वेबसाइट निर्माण, डिजिटल ई–हाजिरी प्रणाली सञ्चालन, स्वास्थ्यसम्बन्धी तथ्याङ्क व्यवस्थापनका लागि छुट्टै शाखाको व्यवस्था र एमआईडीएस सफ्टवेयरको विस्तार गरिएको छ। अस्पताललाई गुगल म्याप्स तथा गुगल कम्युनिकेसनमा समेत आबद्ध गरिएको छ।

सेवाग्राहीलाई आवश्यक सेवा तथा विभाग पहिचान गर्न सहज होस् भनेर विभिन्न स्थानमा सङ्केत बोर्ड राखिएको छ। गुनासो सुनुवाइका लागि सहायता कक्ष, नागरिक बडापत्र र कर्मचारीको जिम्मेवारी स्पष्ट गर्ने कार्यविवरणसमेत तयार गरिएको छ।

त्यस्तै, कर्मचारीको अनुशासन, व्यवहार र कार्यक्षमता सुधार गर्न तालिम तथा प्रशिक्षण सञ्चालन गरिएको छ। सबै विभागमा इन्चार्ज तोक्ने, कर्मचारीको व्यक्तिगत अभिलेख राख्ने र कामको नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

आधुनिक उपकरण र व्यवस्थित पूर्वाधारमा जोड

स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न अस्पतालले अल्ट्रासाउन्ड (यूएसजी), दन्त तथा आँखासम्बन्धी उपचारका लागि उच्च प्रविधियुक्त उपकरणको व्यवस्था गरेको छ। उपकरणको नियमित जाँच तथा मर्मतका लागि बायोमेडिकल इन्जिनियरमार्फत निगरानी गर्ने प्रणालीसमेत सुरु गरिएको छ।

अस्पतालमा मेडिकल वेस्ट व्यवस्थापन, शवगृह सञ्चालन, आफ्नै क्यान्टिन, शुद्ध खानेपानीका लागि वाटर एटीएम तथा आवश्यक कम्प्युटर र इन्टरनेटको व्यवस्था गरिएको छ।

अस्पताल सञ्चालन, सामाजिक सेवा इकाइ, फार्मेसी र शवगृह व्यवस्थापनलाई व्यवस्थित बनाउन छुट्टाछुट्टै कार्यविधि तयार तथा स्वीकृत गरिएको छ। आवश्यक औषधि, स्वास्थ्य सामग्री र जनशक्तिको व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको अस्पतालको भनाइ छ।

अस्पतालले विगत नौ वर्षदेखि थुप्रिएको मेडिकल वेस्ट व्यवस्थापन गरेको विषयलाई पनि उपलब्धिमध्ये एकका रूपमा प्रस्तुत गरेको छ।

हालको नगर अस्पताल र सेवाग्राहीको चाप

१०० शैय्याको अस्पताल बनाउन करिब ३० करोडको योजना

सेवाग्राहीको बढ्दो चाप र विशेषज्ञ सेवाको आवश्यकतालाई ध्यानमा राख्दै कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शैय्याको सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ।

१०० शैय्याको अस्पतालका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए), नागरिक सुनुवाइ तथा अन्य प्रक्रिया पूरा गरी प्रदेश सरकारबाट स्वीकृति प्राप्त भएको छ। अस्पतालको दीर्घकालीन विकासका लागि मास्टर प्लानसमेत तयार गरिएको छ।

अस्पतालको स्तरोन्नतिका लागि करिब ३० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। योजनामा भौतिक संरचना निर्माण तथा शैय्या विस्तारका लागि करिब सात करोड रुपैयाँ, एक्स–रे, यूएसजी, इन्डोस्कोपी, इको, आँखासम्बन्धी उपकरण र ६२.५ केभीए क्षमताको जेनेरेटर खरिदका लागि चार करोड रुपैयाँ विनियोजन गर्ने प्रस्ताव छ।

त्यस्तै, आफ्नै अक्सिजन प्लान्ट स्थापनाका लागि दुई करोड रुपैयाँ, जैविक तथा ठोस फोहोर व्यवस्थापन र लाउन्ड्री प्रणालीका लागि तीन करोड रुपैयाँ तथा आधुनिक मोडुलर अपरेसन थिएटर निर्माणका लागि १३ करोड रुपैयाँ आवश्यक पर्ने कार्ययोजनामा उल्लेख छ।

अपरेसन थिएटर निर्माण तथा सञ्चालनको तयारीलाई अस्पतालको स्तरोन्नतिसँग जोडिएको महत्त्वपूर्ण योजनाका रूपमा हेरिएको छ। यससँगै रक्तसञ्चार केन्द्र स्थापना तथा प्रयोगशाला स्तरोन्नतिको प्रक्रिया पनि अघि बढाइएको छ।

रक्तसञ्चार केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा

अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। रक्तसञ्चार सेवा सञ्चालनमा आएपछि रगत आवश्यक पर्ने बिरामीलाई उपचारका क्रममा थप सहजता हुने अपेक्षा गरिएको छ।

त्यस्तै, अस्पतालको जग्गा लिजमा लिने प्रक्रिया सम्बन्धित मन्त्रालयसम्म अघि बढाइएको छ। पूर्वाधार विस्तार, आधुनिक उपकरणको व्यवस्था र आवश्यक जनशक्ति व्यवस्थापनमार्फत अस्पतालको सेवा क्षमता बढाउने लक्ष्य राखिएको छ।

१०० शैय्याको अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक संरचना र जनशक्तिसँगै अक्सिजन प्लान्ट, आधुनिक अपरेसन थिएटर तथा प्रयोगशालाको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ।

सन् २०१५ ताका अव्यवस्थित नगर अस्पतालको भवन

गरिब तथा विपन्न नागरिकलाई निःशुल्क उपचार

अस्पतालले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सामाजिक सेवा इकाइ सञ्चालन गरेको छ। यसमार्फत गरिब, विपन्न तथा असहाय नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

स्वास्थ्य बीमाअन्तर्गत दाबी अस्वीकृत हुने दरलाई ३० प्रतिशतबाट घटाएर पाँच प्रतिशतमा झारिएको अस्पतालले जनाएको छ। यसका लागि कर्मचारीलाई तालिम, स्वास्थ्य बीमा बोर्डसँग समन्वय तथा आवश्यक व्यवस्थापन गरिएको छ।

फार्मेसी सेवालाई थप प्रभावकारी बनाउन बीमाका बिरामी, सशुल्क सेवा लिने सेवाग्राही तथा निःशुल्क औषधि प्राप्त गर्ने बिरामीका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। औषधि नियमित रूपमा उपलब्ध गराउन मेडिसिन रिफिल कक्ष र गुणस्तरीय औषधि आपूर्तिका लागि रिभल्भिङ फन्डको व्यवस्था गरिएको छ।

आर्थिक पारदर्शिता र जवाफदेहितामा जोड

अस्पतालले सेवा विस्तारसँगै आर्थिक प्रशासनलाई व्यवस्थित, मितव्ययी र पारदर्शी बनाउन विभिन्न सुधार गरेको जनाएको छ।

अस्पतालको आम्दानी तथा खर्चलाई नेपाल सरकारको सूत्र प्रणालीमा आबद्ध गरिएको छ। दैनिक सङ्कलित सेवा शुल्क अर्को दिन दिउँसो १२ बजेसम्म बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था मिलाइएको छ। नियमित लेखापरीक्षण सम्पन्न गर्नुका साथै औषधि तथा स्वास्थ्य सामग्री खरिदमा सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रक्रिया अपनाइएको छ।

आवश्यक सामग्री खरिद तथा आपूर्तिका लागि सार्वजनिक सूचना प्रकाशन गर्ने, फार्मेसीमा नियमित औषधि आपूर्ति सुनिश्चित गर्न आर्थिक व्यवस्था मिलाउने तथा अस्पतालका जिन्सी सामग्रीको निरीक्षण, मर्मत र आवश्यकताअनुसार लिलाम गर्ने प्रक्रियालाई व्यवस्थित बनाइएको छ।

यसैगरी, अस्पतालको कर्मचारी व्यवस्थापन, उपकरणको उपयोग, औषधि आपूर्ति र सेवा प्रवाहलाई थप जवाफदेही बनाउन अनुगमन तथा अभिलेख व्यवस्थापनमा सुधार गरिएको अस्पतालले जनाएको छ।

स्थानीय स्तरमै गुणस्तरीय उपचारको लक्ष्य

कागेश्वरी मनोहरा नगर अस्पतालको पछिल्लो प्रगति विवरणले सीमित सेवाबाट विशेषज्ञ सेवातर्फ अघि बढिरहेको अस्पतालको यात्रालाई चित्रण गर्छ। दैनिक सेवाग्राहीको सङ्ख्या वृद्धि, डिजिटल प्रणालीको प्रयोग, स्वास्थ्य बीमा दाबी अस्वीकृति दरमा कमी, सामाजिक सेवा इकाइ सञ्चालन र विशेषज्ञ उपचार सेवाको विस्तारलाई अस्पतालका प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।

आधारभूत सुधारमार्फत १५ शैय्याको अस्पताललाई क्रमशः सेवा विस्तार गर्दै उच्च प्रविधियुक्त उपकरण र जनशक्ति व्यवस्थापनसहित १०० शैय्यासम्म सञ्चालन गर्न सकिने आधार तयार छ।

अब अस्पतालका लागि चुनौती भनेको बढ्दो सेवाग्राहीको चापअनुसार जनशक्ति, औषधि, उपकरण र पूर्वाधारको पर्याप्त व्यवस्था गर्नु तथा प्रस्तावित योजनालाई समयमै कार्यान्वयन गर्नु हो।

१०० शैय्याको लक्ष्य पूरा गर्दै आधुनिक अपरेसन थिएटर, रक्तसञ्चार केन्द्र र थप विशेषज्ञ सेवा सञ्चालनमा आएमा कागेश्वरी मनोहरा नगरपालिका मात्र नभई आसपासका क्षेत्रका नागरिकले समेत स्थानीय स्तरमै थप गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।


प्रतिकृया दिनुहोस्