Skip
आज : २०८३ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गुल्मीमा ५५ प्रतिशत बढी नागरिक स्वास्थ्य बिमाको दायरामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ७ गते


Advertisement

गुल्मी। जिल्लामा ५५.९२ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्।

सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले सुरु गरिएको यस कार्यक्रममा हालसम्म एक लाख ३७ हजार ८४५ जनाले बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जनाएको छ।

कार्यालयका संयोजक सुवास घिमिरेका अनुसार २०७६ साल माघ १९ गतेदेखि जिल्लामा यो कार्यक्रम सुरु गरिएको हो। २०७८ सालको जनगणनाअनुसार दुई लाख ४६ हजार ४९४ जनसङ्ख्या रहेको जिल्लामा ६६ हजार ९९० पुरुष र ७० हजार ८५५ महिला बिमाको दायरामा आएका छन्। बिमा कार्यक्रमको प्रभावकारिता बुझ्न थालेपछि नागरिकको आकर्षण बढ्दो छ।

जिल्लाका १२ स्थानीय तहमध्ये रेसुङ्गा नगरपालिकामा सबैभन्दा बढी २६ हजार ४९६ जनाले बिमा गराएका छन्। त्यसैगरी, सत्यवती गाउँपालिकामा १६ हजार ६५३ र रुरुक्षेत्र गाउँपालिकामा १४ हजार ७३२ जना बिमित रहेका छन्। अन्य स्थानीय तहमा पनि बिमा गर्नेको सङ्ख्या उल्लेख्य छ।

सरकारले ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति र जटिल खालका क्षयरोगीका लागि निःशुल्क बिमाको व्यवस्था गरेको छ। यसअनुसार १८ हजार ९३९ ज्येष्ठ नागरिक, ४८७ एचआइभी सङ्क्रमित र चार हजार १०४ अपाङ्गता भएका व्यक्तिले निःशुल्क सुविधा लिएका छन्। साधारणतर्फ एक लाख नौ हजार ६८१ जना बिमित छन्।

जिल्लामा गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट आधारभूत अस्पताल, गुल्मीदरबार आधारभूत अस्पताल, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमार्फत बिमा सेवा प्रदान गरिँदै आएको छ। कार्यक्रम सञ्चालनका लागि जिल्लामा तीन दर्ता अधिकारी र ९४ दर्ता सहयोगी खटिएका छन् ।


प्रतिकृया दिनुहोस्