७ कार्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेमाथि कडा प्रहार गर्दै तत्काल पार्टी एकता सम्भव नरहेको बताएका छन्।
उनले एमालेमाथि भ्रष्टाचारको संरक्षण गरेको र सुशासनको विपक्षमा उभिएको आरोप लगाएका हुन्।
आज काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा ‘पार्टी जागरण अभियान’ सुरु गर्दै प्रचण्डले एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्ने भए पनि पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारे।
उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध लडिरहेको दाबी गर्दै एमालेसँग राजनीतिक दृष्टिकोण र कार्यशैलीमै भिन्नता रहेको बताए। राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जुनसुकै दलसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
प्रचण्डले कांग्रेस र एमालेको गठबन्धनले देशलाई राजनीतिक दुर्घटनातर्फ लैजान सक्ने चेतावनी आफूहरूले पहिल्यै दिएको पनि बताए। सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेका बेला दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको उनको आरोप छ।
त्यस्तै, माओवादी आन्दोलन समाप्त भएको भन्ने भाष्य गलत रहेको जिकिर गर्दै उनले तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहित २६ वटा कम्युनिस्ट घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको बताए।
यो विघटन नभई रूपान्तरण भएको उल्लेख गर्दै प्रचण्डले नामभन्दा काम महत्त्वपूर्ण रहेको र सबै घटकका विचार समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कम्युनिस्ट आन्दोलनको भविष्यबारे उठिरहेका प्रश्नलाई अस्वीकार गर्दै उनले आलोचनाभन्दा आफ्नो लक्ष्य र काममा केन्द्रित भएर अघि बढ्ने बताए।






























