जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका तीन चिकित्सकलाई तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन निर्देशन दिएको छ।
प्रतिष्ठानले डा.संगीता न्यौपाने, डा. दिरिश्य विश्वकर्मा र डा. नवीन कुमार मण्डललाई लक्षित गर्दै सूचना जारी गरेको हो। उनीहरू मेडिकल अधिकृत पदमा कार्यरत रहँदै आएको र परीक्षा अवधिसमेत नजिकिएको अवस्थामा प्रतिष्ठानलाई उनीहरूको आवश्यकता नरहेको भन्दै माग गरिएको अध्ययन बिदा अस्वीकृत गरिएको सूचनामा उल्लेख छ।
अध्ययन बिदा अस्वीकृत भएपछि पटक–पटक कार्यालयमा उपस्थित हुन ताकेता गर्दा पनि उनीहरू हाजिर नभएको प्रतिष्ठानले जनाएको छ।
सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई हाजिर हुन अन्तिम पटक निर्देशन दिइएको छ। तोकिएको समयभित्र पनि हाजिर नभए कर्मचारीको सेवाका सर्त र सुविधासम्बन्धी नियमावलीअनुसार प्रचलित कानुनबमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने प्रतिष्ठानले स्पष्ट पारेको छ।
































