काठमाडौं, कात्तिक १३- नेपाल पब्लिक क्याम्पस संघले आर्थिक वर्ष २०८३/०८४ का लागि सदस्यता नवीकरण तथा कल्याण कोष नवीकरण प्रक्रिया अघि बढाएको छ। संघको केन्द्रीय कार्यसमितिले एक सूचना जारी गर्दै देशभरका सामुदायिक क्याम्पसहरूलाई अनलाइन प्रणालीमार्फत सदस्यता तथा कल्याण कोष नवीकरण गर्न आग्रह गरेको हो।
संघका अध्यक्ष शुभचन्द्र गुप्ताद्वारा जारी सूचनाअनुसार संघले आर्थिक वर्ष २०८१/०८२ देखि आफ्नो वित्तीय प्रणालीलाई सफ्टवेयरमार्फत सञ्चालन गर्दै आएको छ। सोही व्यवस्थालाई निरन्तरता दिँदै चालु आर्थिक वर्ष २०८३/०८४ को सदस्यता नवीकरण तथा कल्याण कोषसम्बन्धी सम्पूर्ण प्रक्रिया अनलाइन माध्यमबाट सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
संघले सदस्यता नवीकरणका लागि आफ्नो आधिकारिक वेबसाइट www.npca.edu.np मार्फत Campus Portal मा प्रवेश गरी आवश्यक विवरण अद्यावधिक गर्न तथा तोकिएको शुल्क अनलाइन भुक्तानी गर्न आग्रह गरेको छ।
QAA र Non-QAA क्याम्पसका लागि फरक शुल्क
संघले सदस्यता तथा कल्याण कोषका लागि QAA प्राप्त र Non-QAA क्याम्पसलाई छुट्टाछुट्टै शुल्क निर्धारण गरेको छ।
निर्धारित शुल्कअनुसार वार्षिक सदस्यता नवीकरणका लागि QAA प्राप्त क्याम्पसले ३ हजार रुपैयाँ र Non-QAA क्याम्पसले २ हजार ५०० रुपैयाँ बुझाउनुपर्नेछ।
त्यस्तै, नयाँ सदस्यता लिने क्याम्पसका लागि प्रथम प्रवेश शुल्क दुवै समूहका क्याम्पसलाई समान १५ हजार रुपैयाँ तोकिएको छ।
कल्याण कोषको सदस्यता पहिलो पटक लिने क्याम्पसका लागि ५ हजार रुपैयाँ तथा वार्षिक नवीकरणका लागि QAA प्राप्त क्याम्पसले ३ हजार र Non-QAA क्याम्पसले २ हजार ५०० रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
अनलाइन प्रणालीबाटै नवीकरण गर्नुपर्ने
संघका अनुसार सदस्यता नवीकरणका लागि सम्बन्धित क्याम्पसले संघको वेबसाइटमा गई Campus Portal मा Signup Now मार्फत User ID र Password सिर्जना गर्नुपर्नेछ। नयाँ प्रयोगकर्ताको Account Approval भएपछि Login गरी Renewal Form भर्न सकिनेछ। यसअघि नै User ID र Password भएका क्याम्पसले पुरानै विवरण प्रयोग गरी Renewal Form अद्यावधिक गर्न सक्नेछन्।
नवीकरणका क्रममा आर्थिक वर्ष २०८३/०८४ छनोट गरी सम्बन्धित शुल्क Submit गर्नुपर्नेछ। त्यसपछि Invoice मा Status Pending देखिएपछि सदस्यता नवीकरणको रकम ग्लोबल आई.एम.ई. बैंकको कीर्तिपुर शाखामा र कल्याण कोषको रकम ज्योति विकास बैंकको सातदोबाटो शाखामा जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ।
बैंकमा रकम जम्मा गरेको रसिद वा अनलाइन भुक्तानीको Screenshot संघले उपलब्ध गराएको WhatsApp नम्बरमा पठाएपछि मात्र भुक्तानीसम्बन्धी विवरणको प्रमाणीकरण तथा Approval गरिनेछ। Approval भएपछि क्याम्पसले संघको Auto Generated सिफारिस पत्र र भुक्तानी रसिद प्रिन्ट गर्न सक्नेछ।
नगद कारोबार नहुने, अनलाइन भुक्तानी अनिवार्य
संघले आपत्कालीन अवस्थाबाहेक नगदमार्फत आर्थिक कारोबार नगर्ने स्पष्ट पारेको छ। त्यसैले सदस्यता तथा कल्याण कोष नवीकरणका सम्पूर्ण आर्थिक कारोबार अनलाइन माध्यमबाटै गर्नुपर्नेछ।
साथै, बैंक भौचर वा QR Code मार्फत रकम भुक्तानी गर्दा Remarks मा सम्बन्धित क्याम्पसको नाम अनिवार्य रूपमा उल्लेख गर्न संघले अनुरोध गरेको छ। यसबाट भुक्तानी पहिचान तथा लेखा व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ।
संघले सदस्यता विवरण अद्यावधिक गर्दा क्याम्पस प्रमुख, सञ्चालक समितिका अध्यक्ष र प्राध्यापक इकाइ सभापतिको नाम तथा सम्पर्क नम्बर अनिवार्य रूपमा उल्लेख गर्न पनि निर्देशन दिएको छ।
सहजीकरणका लागि सम्पर्क व्यवस्था
सदस्यता नवीकरणका क्रममा User ID र Password बिर्सिएको, प्राविधिक समस्या आएको वा अन्य कुनै जिज्ञासा भएमा संघका कर्मचारी रिसम यादवसँग ९८४४४१७७८० वा ९७६३३७२२१० नम्बरमा WhatsApp मार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
संघले बाँकी बक्यौता भएका क्याम्पसलाई बाँकी रहेका वर्ष छनोट गरी सोहीअनुसारको रकम जम्मा गर्नसमेत आग्रह गरेको छ।
नेपाल पब्लिक क्याम्पस संघले वित्तीय कारोबारलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले अनलाइन प्रणालीलाई निरन्तरता दिएको देखिन्छ। यस व्यवस्थाले देशभरका सामुदायिक क्याम्पसको सदस्यता अभिलेख, आर्थिक कारोबार तथा संस्थागत समन्वयलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

























