Skip
आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विद्यार्थी नेता पक्राउपछि संयुक्त विद्यार्थी संगठनको आक्रोश, बिना सर्त रिहाइ माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २४ गते


Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरबाट पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न संयुक्त विद्यार्थी आन्दोलनमा आबद्ध संगठनहरूले माग गरेका छन्।

असोज २२ गते त्रिविका पदाधिकारी र स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधिबीच उत्पन्न परिस्थितिबारे छलफल गर्न असोज २३ गते उपकुलपतिको कार्यालयमा वार्ता आयोजना गरिएको थियो।

छलफल सकारात्मक वातावरणमा सम्पन्न भए पनि वार्ता चलिरहेकै बेला प्रहरीले आरआर क्याम्पसका स्ववियु सभापति लोकेश ढुंगाना, विश्वविद्यालय क्याम्पसका स्ववियु सचिव हिमन्त बुढा, सदस्य कुलबहादुर बुढा, सदस्य तेजप्रकाश सञ्जेल र विद्यार्थी रमण उपाध्यायलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ।

संयुक्त विद्यार्थी संगठनहरूले घटनालाई विद्यार्थीको लोकतान्त्रिक अधिकार, शान्तिपूर्ण गतिविधि र संवादमार्फत समस्या समाधान गर्ने प्रक्रियामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्।

उनीहरूले सरकारमाथि विद्यार्थी संगठनहरूलाई वार्तामा बेवास्ता गरेको र सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश उल्लंघन गरेको आरोपसमेत लगाएका छन्।

विज्ञप्तिमार्फत पक्राउ परेका सबै विद्यार्थीलाई कुनै पनि ढिलाइ नगरी रिहा गर्न प्रहरी प्रशासनसँग माग गरिएको छ। साथै, घटनाबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित प्रहरी प्रशासन र सरकारले लिनुपर्ने उनीहरूको भनाइ छ।

संयुक्त विद्यार्थी आन्दोलनले विद्यार्थी एकताको पक्षमा आवाज उठाउँदै पक्राउ परेका विद्यार्थीको तत्काल रिहाइको माग दोहोर्‍याएको छ।


प्रतिकृया दिनुहोस्