काठमाडौं । अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो चुनाव राजनीतिक शक्ति र लोकप्रियता मापन गर्ने महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ।
नेपाली समयअनुसार आज अपराह्न साढे ४ बजेदेखि मतदान सुरु हुनेछ। निर्वाचनमा अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि प्रतिस्पर्धा हुँदैछ। केही राज्यमा गभर्नर पदका लागि समेत मतदान हुनेछ।
हाल अमेरिकी संसद्का दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ। तर यसपटक कुनै एक सदनमा मात्रै बहुमत गुमाए पनि ट्रम्पलाई आफ्ना नीति तथा कार्यक्रमअनुसार कानुन बनाउन कठिन हुन सक्छ।
सिनेटका कुल १०० सिटमध्ये बहुमतका लागि ५१ सिट आवश्यक पर्छ। हाल रिपब्लिकनसँग ५३ र डेमोक्र्याटसँग ४५ सिट छन् भने दुई स्वतन्त्र सांसद डेमोक्र्याटको पक्षमा छन्।
यसपटक प्रतिस्पर्धामा रहेका ३५ सिटमध्ये २२ रिपब्लिकन र १३ डेमोक्र्याटका हुन्।
त्यस्तै, प्रतिनिधिसभाका ४३५ वटै सिटमा निर्वाचन हुँदैछ। यस सदनमा बहुमत कायम गर्न कुनै दलले कम्तीमा २१८ सिट जित्नुपर्नेछ।
रिपब्लिकन पार्टी दुवै सदनमा आफ्नो पकड जोगाउने रणनीतिमा छ भने डेमोक्र्याटहरू बहुमत खोस्ने दाउमा छन्। निर्वाचनको नतिजाले ट्रम्पको आगामी राजनीतिक कार्यदिशा र सरकार सञ्चालनमा प्रत्यक्ष प्रभाव पार्नेछ।

























